काठमाडौं । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म सात सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो ।
सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको राइड मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकनपश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदी किनारमा पुगेर सम्पन्न भएको हो ।
सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।
यात्राले सहभागीलाई आफ्नो देशको भौगोलिक अवस्थाबारे जानकारी गराउनुका साथै व्यवसायमा ऊर्जा थपिएको र यो यात्रा सोचेभन्दा राम्रोसँग सम्पन्न भएको सह–संयोजक मोहन केसीले जानकारी दिए । ‘यात्रा अवधिभर सहभागीले नयाँ कुराको ज्ञान हासिल गर्नुभएको छ’ उनले भने,–‘नयाँ गन्तव्यमा यात्रा गर्दै त्यहाँको बारेमा जानकारी लिन पाउँदा सहभागीहरू सन्तुष्ट हुनुहुन्छ, यस्ता कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाउँदै जानेछौँ ।’
संयोजक श्रेष्ठले यात्रा सफल बनाउन विभिन्न स्थानबाट सहजीकरण गर्ने व्यक्ति, संघसंस्था, जनप्रतिनिधि, अटोमोबाइल व्यवसायीलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए । रूकुमलगायत नेपालका हिमाली क्षेत्रले पर्यटनका लागि अथाह सम्भावना बोकेकाले ती क्षेत्रहरूको प्रचार–प्रसार जरूरी रहेको श्रेष्ठले बताए ।