कास्की । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीच भएको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गर्ने र सो अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार नै सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि प्रदेश सरकारलाई पत्र प्राप्त भएपछि गण्डकी प्रदेशले एक महिनाका लागि नियमावली कार्याान्वयन स्थगन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले यही जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । त्यसको विरोधमा व्यवसायीले जेठ ८ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेश र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्दै आएका छन् ।
सोमबार राति संघ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै मंगलबार पनि व्यवसायीले देशभर यातायात सेवा बन्द गरेका हुन् ।
यातायात सेवा बन्द भएपछि जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायीहरूले गण्डकी प्रदेशमा चार दिनदेखि यातायात सेवा बन्द गरेका थिए । यस्तै, सोमबारदेखि देशभरका सार्वजनिक यातायात सेवा ठप्प पारेका थिए ।
यातायात व्यवसायीको आन्दोलन फिर्ता
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । सोमबार मध्यरातमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको थियो । सहमतिपछि पनि प्रदेश सरकारबाट नियमावली कार्यान्वयन स्थगन नभएसम्म यातायात सञ्चालन नगर्ने भन्दै व्यवसायीहरूले मंगलबार पनि यातायात सेवा ठप्प पारेका थिए । सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहजरूपमा चल्नेछ ।
सोमबार गृहम न्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्तापश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।