काठमाडौं । सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या, उनीहरूले नेपालमा रहँदा गरेको प्रतिव्यक्ति औसत खर्च र उनीहरूको औसत नेपाल बसाइको अवधिका सम्बन्धमा केही समयअघि एक तथ्यांक प्रकाशित भएको छ । त्यसैले नेपाल आएका विदेशी पर्यटकको संख्या र उनीहरूले नेपालमा रहँदा गरेको प्रतिव्यक्ति औसत खर्चका साथै उनीहरूको औसत नेपाल बसेको अवधिलाई आधार मानेर यो लेख तयार गरिएको छ ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना, २०२० मा दुई लाख ३० हजार ८५ जना, २०२१ मा एक लाख ३० हजार ५० हजार नौ सय ६३ जना, २०२२ मा छ लाख १४ हजार आठ सय ६९ जना, २०२३ मा १० लाख १४ हजार आठ सय ८२ जना र २०२४ मा ११ लाख ४७ हजार पाँच सय ६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसरी तथ्यांक हेर्दा छ वर्षको अवधिमा लगभग ४४ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएको देखिन्छ ।
त्यस्तै गरेर विगत छ वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाई अवधिलाई हेर्दा सन् २०१९ मा १२ दशमलव ०७ दिन । २०२० मा १५ दशमलव ०१ दिन, २०२१ मा १५ दशमलव ०५ दिन, २०२२ मा १३ दशमलव ०१ दिन, सन् २०२३ मा १३ दशमलव ०२ दिन र २०२४ मा १३.०३ दिन देखिन्छ । यसरी नेपाल भ्रमण गर्न आएका पर्यटकहरूको बसाइ अवधिलाई हेर्दा विगत छ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको प्रतिदिन औसत बसाइ अवधिचाहिँ लगभग १४ दिन रहेको मान्न सकिन्छ । जुन तथ्यांकलाई साह्रै नराम्रो मान्नु पर्दैन । अर्थात् विगत छ वर्षमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको औसत बसाई अवधिलाई राम्रै मान्नु पर्छ ।
त्यसैगरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले नेपाल बसाइ अवधिका क्रममा प्रतिव्यक्ति दैनिक औसत खर्च गराई सम्बन्धमा पनि लेखिएको छ । तर, विदेशी पर्यटकले नेपाल बसाइ अवधिमा गर्ने खर्च (प्रतिव्यक्ति दैनिक औसत खर्च गराई) चाहिँ त्यति चित्त बुझाउन सकिने खालको रहेको छैन । यहाँ छ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूले नेपाल बसाइको क्रममा गरेको औसतमा दैनिक खर्च प्रस्तुत गरिएको छ ।
सन् २०१९ मा प्रतिव्यक्ति दैनिक ४८ अमेरिकी डलर रहेको थियो, २०२० मा चाहिँ सो खर्चमा १७ अमेरिकी डलरले बढोत्तरी भएर ६५ अमेरिकी डलर पुग्यो भने २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूले गर्ने दैनिक औसत खर्च गराई १७ अमेरकी डलर घटेर दैनिक औसत खर्च गराई पुनः ४८ अमेरिकी डलरमा झर्यो । यसैगरी सन् २०२२ मा साढे सात अमेरिकी डलर घटेर दैनिक ४० दशमलव ०५ अमेरकी डलर पुग्यो भने २०२३ मा शून्य दशमलव ५० ले बढेर दैनिक औसत खर्च गराई ४१ अमेरिकी डलर र २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले दैनिक औसत खर्च गराई पुनः शून्य दशमलव २ ले घटेर ४० दशमलव शून्य ८ अमेरिकी डलरमा झर्यो ।
त्यसो त विश्वमा पर्यटन उद्योग (क्षेत्र) मात्रै यस्तो उद्योग हो, जुन क्षेत्रमा स–साना स्केललदेखि ठूल–ठूला स्केलमा निजी क्षेत्रले आफ्नो लगानीमा चलाएको (चलायमान रहेको) हुन्छ । भनाइको मतलब सरकारले योजना अथवा कार्य योजना बनाएर ठूल–ठूला पूर्वाधारमा लगानी गरेजस्तो पर्यटन उद्योगमा लगानी गरिरहनु पर्दैन । त्यसो त यसो भनिरहँदा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको विमानस्थलहरूचाहिँ अपवादका रुपमा पर्छ । पर्यटन उद्योगमा स–साना स्केललदेखि लिएर ठूल–ठूला स्केलमा निजी क्षेत्रहरूले स्वतः लगानी गर्दै चलेको (चलायमान) भएका क्षेत्रको कुरो गर्दा साना होटल, कटेज, होमस्टे, लज, गेस्ट हाउस, रेस्टुरेन्ट, बार, पब, सालुन, मसाज सेन्टर, दोहोरी साँझ, ज्याकुजी, होस्टेल, गजल रेस्टुरेन्टलगायत विविध क्षेत्र रहेका छन् । जुन क्षेत्रमा व्यवसायीहरू आफैंले स–सानो स्केलमा लगानी गरिहेका हुन्छन् नै ।
हाम्रो देशमा पर्यटक र पर्यटनमा विविधीकरण गर्न सकिने सम्भावना अत्यधिक रहेको भए पनि हामीले त्यहीअनुसार विश्वका पर्यटकबीच प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्नचाहिँ नसकेको हो कि ? भन्ने देखिन्छ । यो पक्षचाहिँ हाम्रो धेरै ठूलो कमजोरी हो कि ? भन्ने देखिन्छ । हुन पनि हामीले विश्वका पर्यटकमाझ देशको पर्यटकीस्थल एवं पर्यटकीय विविधीकरणका बारेमा सक्दो प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्नसके नेपाली पर्यटनको भविष्य सदैव उज्ज्वल रहेको देखिन्छ । यसो भनिरहँदा विगतका दिनमा हामीले नेपालको पर्यटकीय स्थल एवं पर्यटकीय विविधीकरणका बारेमा प्रचारप्रसार एवं ‘ब्रान्डिङ’का लागि प्रयास नै नगरेको चाहिँ कदापि होइन ।
जस्तैः नेपालको पर्यटन र पर्यटकीयस्थल एवं पर्यटकीय विविधीकरणका सम्भावनाका बारेमा प्रचारप्रसार र ‘ब्रान्डिङ’ गर्न भनी सन् १९९८ मा पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–९८’ मनाएका थियौँ । स्मरणीय छ, सो वर्ष पाँच लाख विदेशी पर्यटक संख्या नेपाल भित्र्याउने महात्वाकांक्षी लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–९८’ मनाइएको थियो । त्यस्तै गरेर ‘नेपाल भ्रमण वर्ष–९८’को मुख्य नारा/स्लोगन ‘नेचुरल्ली नेपाल वान्स नट एनफ’ रहेको थियो । सन् १९९८ मा संख्या तोकेर ‘पाँच लाख’ विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल भ्रमण वर्ष–९८’ मनाइएको भए पनि उक्त वर्ष चार लाख ६३ हजार छ सय ८४ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । बरु सन् १९९९ मा चाहिँ चार लाख ९१ हजार पाँच सय चार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।