काठमाडौं । मनसुन, दक्षिण एसियाली जलवायु प्रणालीको एक अभिन्न अङ्ग हो । जसले यस क्षेत्रको कृषि, जलस्रोत र समग्र जीवनशैलीमा महत्वपूर्ण प्रभाव पार्दछ । यसले नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि मनसुन एकातर्फ वरदान हो भने अर्कोतर्फ विनाशको कारक पनि बन्न पुग्छ । तसर्थ मनसुनी वर्षाले कृषि उत्पादनका लागि आवश्यक पानी प्रदान गर्दछ । जसले गर्दा जलविद्युत् उत्पादनमा सघाउँछ र भूमिगत जलस्रोतको पुनरभरण गर्दछ । तथापि, यही मनसुनी वर्षा जब अतिवृष्टि वा खण्डवृष्टिको रूपमा देखा पर्छ । तब यसले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपहरू निम्त्याउँछ, जसले ठूलो जनधनको क्षति पुर्याउँछ । देशको भू–धरातलीय स्वरूप, कमजोर भौगर्भिक अवस्था, अव्यवस्थित बसोबास, वन विनाश र जलवायु परिवर्तनका कारण मनसुनजन्य विपत्को जोखिम झनै बढेको छ ।
हरेक वर्ष मनसुनको समयमा देशका विभिन्न भागहरू बाढी र पहिरोको चपेटामा पर्नेगरेका छन् । जसले हजारौँ मानिस विस्थापित हुन्छन्, सयौँले ज्यान गुमाउँछन् र अर्बौँको भौतिक सम्पत्ति नष्ट हुन्छ । यस अर्थमा भन्ने नै हो भने सामान्यतया देशमा मनसुनका कारण सिर्जित बाढी तथा पहिरोको जोखिम, यसका विविध प्रभावहरू, न्यूनीकरणका प्रयासहरू र भविष्यको मार्गचित्रबारे विस्तृतरूपमा चर्चा गरिन्छ । फलतः मौसमी चेतावनी एक सरल सूचनाजस्तो देखिए पनि यसले हजारौँ मानिसको जीवन बचाउन सक्ने प्रभाव राख्दछ । जसमा मुलुकजस्तो भौगोलिक जटिलता भएको राष्ट्रमा चेतावनी प्रणाली केवल मौसम विभागको जिम्मेवारी मात्र होइन । यो सम्पूर्ण राज्य संयन्त्र, नागरिक समाज र समुदायको साझा जिम्मेवारी हो । यो चेतावनी मात्र पर्याप्त होइन, त्यो चेतावनीलाई समयमै बुझ्ने, स्वीकार गर्ने र त्यसअनुसार कदम चाल्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता पनि हो । जसमा भन्ने नै हो भने प्रविधि, शिक्षा र योजनाबद्ध कार्यद्वारा मात्रै हामी मौसमी प्रकोपहरूप्रति सुरक्षित रहन सक्छौँ । त्यसैले, सतर्कता नै सुरक्षा हो भन्ने भावनाका साथ चेतावनीलाई जीवनरक्षाको पूर्वसर्तको रूपमा लिन जरुरी छ ।
मनसुन प्रणाली र देशमा यसको प्रभावमा भन्ने नै हो भने सामान्यतया, राष्ट्रमा मनसुन जुन महिनाको दोस्रो हप्तादेखि सुरु भई सेप्टेम्बर महिनाको अन्त्यसम्म रहन्छ । जब कि हिन्द महासागरबाट बहने जलवाष्पयुक्त हावा हिमालय पर्वत शृङ्खलासँग ठोक्किएपछि माथि उठ्छ र चिसिएर वर्षाको रूप लिन्छ । यो मौसमी वर्षा देशको कुल वार्षिक वर्षाको लगभग ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । यसले गर्दा मनसुनको सक्रियता, वर्षाको मात्रा र वितरण स्थानअनुसार फरक–फरक हुन्छ । यसले कहिलेकाहीँ मनसुन चाँडै सुरु हुने वा ढिलोसम्म रहने पनि हुन सक्छ । जसले गर्दा विपत्को जोखिमलाई थप बढाउँछ । जुन मौसमी चेतावनी प्रणाली भनेको खतरा आउनुभन्दा अगाडि नै सटिक जानकारी, विश्लेषण र पूर्वानुमान गरी सम्बन्धित क्षेत्रका बासिन्दा र प्रतिक्रिया गर्ने निकायहरूलाई समयमै सूचना दिने, तिनीहरूलाई तयार गराउने र कारबाही गर्न सक्ने बनाउने प्रक्रिया र सुविधाहरूको समुच्चय हो । यसको मुख्य उद्देश्य ज्यान जोगाउने, चोटपटक घटाउने, सम्पत्तिको क्षति कम गर्ने र प्रतिक्रिया गर्ने क्षमता बढाउने हो ।
नेपालमा बाढी आउनुका मुख्य कारणहरू निम्न प्रकारका छन् । जसलाई बुँदागतरुपमा प्रस्तुत गरिएको छ ।
अतिवृष्टि : मनसुनको समयमा छोटो अवधिमा हुने अत्यधिक वर्षाले नदीनालाहरूमा पानीको सतह ह्वात्तै बढाउँछ । जसले गर्दा नदीहरूले आफ्नो बहाब क्षेत्र नाघेर आसपासका क्षेत्रमा पस्दा बाढीको स्थिति सिर्जना हुन्छ ।
भू–धरातलीय स्वरूप : नेपालको उत्तरी भागमा उच्च हिमाली र पहाडी क्षेत्र छन् भने दक्षिणी भागमा समथर तराई प्रदेश छ । पहाडी क्षेत्रमा भिरालो जमिन र कमजोर चट्टानका कारण पानी सजिलै बगेर तराईमा पुग्छ र नदीहरूको बहाब तीव्र बनाउँछ ।
नदी प्रणाली : नेपालमा कोशी, गण्डकी, कर्णाली, महाकालीजस्ता ठूला नदी प्रणालीहरू छन्, जसका सयौँ सहायक नदीहरू छन् । यी नदीहरूको जलाधार क्षेत्र ठूलो हुनाले माथिल्लो तटमा भएको भारी वर्षाले तल्लो तटमा विनाशकारी बाढी ल्याउन सक्छ ।
वन विनाश र भू–क्षय : जुन रुखबिरुवाले पानीको बहाबलाई नियन्त्रण गर्ने र माटोलाई समातेर राख्ने काम गर्दछन् । यसरी वन विनाशले गर्दा पानी सोस्ने क्षमता घट्छ, भू–क्षय बढ्छ र नदीहरूमा गेग्रान (माटो, ढुङ्गा, बालुवा)को मात्रा बढ्छ । यसले नदीको सतहलाई उकास्छ र बाढीको जोखिम बढाउँछ ।
अव्यवस्थित बसोबास र पूर्वाधार निर्माण : मानवहरू बस्ती खासगरीकन नदी किनार, खोलाको बगर तथा जोखिमपूर्ण क्षेत्रमा अव्यवस्थितरूपमा घर तथा अन्य भौतिक संरचनाहरू निर्माण गर्नाले बाढीको क्षति बढ्छ । जसमा सडक, पुलजस्ता पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक बहावलाई ध्यान नदिँदा पनि बाढीको समस्या देखिन्छ ।
जलवायु परिवर्तन : जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा फेरबदल आएको छ । यसमा पनि अतिवृष्टि र खण्डवृष्टिका घटनाहरू बढेका छन् । जसले बाढीको जोखिमलाई थप जटिल बनाएको छ ।
ताल फुट्नु (ग्यालसियल लेक आउट्वुस्ट फोल्डस्) : हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिने क्रम बढेको छ । जसले गर्दा हिमतालहरूको आकार बढ्दै गएको छ । यी तालहरू विभिन्न कारणले फुट्दा तल्लो तटीय क्षेत्रमा आकस्मिक र विनाशकारी बाढी आउन सक्छ ।
हाम्रो देशको भौगोलिक बनोटका कारण अधिकांश जिल्लाहरू बाढी र पहिरोको ठूलो जोखिममा रहेका छन् । जसमा तराई प्रदेशमा विशेषगरी कोशी, गण्डकी, कर्णाली, महाकाली, कमला, वाग्मती, राप्तीजस्ता ठूला नदीहरूको तल्लो तटीय क्षेत्रहरू (जस्तैः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) बाढी र डुबानको उच्च जोखिममा छन् । त्यसरी नै चुरे क्षेत्रको अव्यवस्थित दोहनले गर्दा तराईमा बाढीको प्रकोप झनै बढेको छ । त्यस्तैगरी पहाडी प्रदेशमा महाभारत पर्वत शृङ्खला र मध्यपहाडी क्षेत्रका भिराला जमिनहरू पहिरोको उच्च जोखिममा रहेका छन् । यसमा पनि विशेषगरी नदी किनारका बस्तिहरू, कमजोर भू–बनोट भएका क्षेत्रहरू र अव्यवस्थित सडक निर्माण गरिएका ठाउँहरू बढी प्रभावित हुन्छन् । जसमा भन्ने नै हो भने सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, बाग्लुङ, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, अछाम, डोटी, बझाङ, बाजुरा जस्ता जिल्लाहरू पहिरोबाट बढी प्रभावित हुनेगरेका छन् । त्यस्तै उच्च हिमाली प्रदेशमा पनि यहाँ हिमपहिरो र हिमताल विस्फोटन (जीएलओ)को जोखिम रहन्छ । जसले तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी निम्त्याउन सक्छ । जसमा नेपालजस्तो प्राकृतिक विविधता भएको देशका लागि मौसमी चेतावनीप्रणाली मात्र सरकारी जिम्मेवारी होइन । यो सामूहिक उत्तरदायित्व पनि हो । यसलाई जनस्तरमा चेतना, प्रविधिको पहुँच, संस्थागत समन्वय र स्थानीय सहभागितामार्फत नेपालमा मौसमी चेतावनीप्रति सतर्कता अभिवृद्धि गर्न सकिन्छ । यसमा पनि समयमै सतर्कता अपनाएर हामी प्राकृतिक विपत्तिबाट जनधनको रक्षा गर्न सक्दछौँ । यस्तो प्रणाली सुदृढीकरणले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिमा समेत महत्वपूर्ण टेवा पुर्याउनेछ ।
समग्रमा भन्नुपर्दा नेपालको भौगोलिक र जलवायुगत जटिलताले मौसमी आपत्हरूबाट पूर्णरूपमा बच्न असम्भव बनाएको छ । तर, राम्रो संगठित र प्रभावकारी मौसमी चेतावनी प्रणाली र त्यसप्रति सचेत र सतर्क रहने संस्कृतिले मानवीय क्षति र आर्थिक हानिलाई घटाउन सक्छ । यसको सफलता केन्द्र, प्रदेश र स्थानीय सरकार, प्राविधिक संस्थाहरू, सुरक्षा संस्था, गैरसरकारी संस्था, मिडिया, विद्यालय र सबैभन्दा महत्वपूर्ण, प्रत्येक व्यक्ति र समुदायको समन्वित प्रयास, जिम्मेवारी र कार्यान्वयनमा निर्भर गर्दछ । जुन चेतावनी प्रणालीले सूचना दिन्छ । तर जीवन बचाउने काम सतर्कताले मात्र गर्छ । यसमा अघि सचेत भएको भए पछि पछुताउनु पर्दैन भन्ने नेपाली उखानले यसैलाई जोड दिन्छ । मूलतः मनसुन नेपालको जीवनरेखा भए पनि यसले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरू विकासका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।