काठमाडौं । प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मकरूपमा कम पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशले आफ्ना पर्यटकीय गन्तव्यको नेपालभित्र र बाहिर प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ ।
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले पर्यटन ऐन, २०७८ को दफा ४० को उपदफा २ को खण्ड (ख) बमोजिम पर्यटन प्रवद्र्धन समिति गठन गरेको हो । ऐनअनुसार समितिको अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था छ ।
समितिका पदाधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्यहरूमा उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको तर्फबाट पदम बहादुर शाही, मुगु होटल व्यवसायी राराको तर्फबाट देवी कृष्ण रोकाया, सुर्खेतका पर्यटन व्यवसायी तथा उद्यमी भानुभक्त खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट महेन्द्रजङ्ग शाही, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट रमेश सुनार र फोटो पत्रकार भरतराज थापा रहेका छन् ।
समितिलाई पर्यटन क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्ने, वातावरणीय सौन्र्दर्य र जैविक विविधतालाई कम असर पर्ने गरी नदी, ताल, पोखरीको संरक्षण गर्ने, कला संस्कृति एवं प्राकृतिक सम्पदाको विवरण संकलन गरी सम्वद्र्धन गर्ने योजनासहित कार्यक्रम सञ्चालन गर्ने, ट्रेकिङ (पदयात्रा) र र्याफ्टिङ पूर्वाधार विकास एवं प्रवर्द्धन गर्नेलगायतका कार्यहरू गर्न कर्णाली प्रदेशको पर्यटन ऐन २०७८ ले मार्ग प्रशस्त गरेको छ ।