किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको मकालु गाउँपालिका–२ मा मङ्गलबार अविरल वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । घरमाथिबाट पहिरो खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जानकारी दिएका छन् । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।
पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ । बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियोे ।