चन्द्रपुर (रौतहट) । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा बाप्र ०३– ००१ ज ०४५२ नम्बरको हाइस र विपरित दिशातर्फ जाँदै गरेको मप्र ०३–००१ ख ८६०० नम्बरको ट्रक एकआपसमा ठोक्कीइ सवारी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बुधबार बिहान सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको हाइस र ट्रक ठोकिँदा रामनगर गाउँपालिका–१ खैरवा बस्ने ३६ वर्षीया भगियादेवी र सोही गाउँका ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको जानकारी दिए । उनका अनुसार दुवै जनाको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक राईले सर्लाहीको रामनगर–१ खैरवाका मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएको जानकारी दिए । ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको उनले बताए ।