काठमाडौं । बुधवार नेपालसँग खेल्न लागेको नेदरल्यान्ड्स आईसीसी विश्वकप लीग २ को बलियो प्रतिद्वन्द्वीमध्येको एक हो।उसले पाँच पटक त एकदिवसीय विश्वकप खेलिसक्यो। एकपटक टी२० विश्वकपमा छनोट पनि भइसक्यो।
सन् २०१८-२३ को शृङ्खलामा त नेदरल्यान्ड्स विश्वकप सूपरलीग खेलिरहेको थियो, जहाँ टोलीले १२ वटा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेको थियो।यसै सिजनमा मात्र नेदरल्यान्ड्स विश्वकप लीग २ खेल्न झरेको हो।नेदरल्यान्ड्सको दाउत्यस अर्थमा पनि बलियो टोली नेदरल्यान्ड्स लीग २ को उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।
टोली हाल २६ अङ्कका साथ दोस्रो स्थानमा छ।ऊभन्दा माथि शीर्ष स्थानमा अमेरिका छ। यदि बुधवार नेपाललाई राम्रो रन रेटमा हराउन सके नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा उक्लिन सक्छ।तसर्थ नेदरल्यान्ड्सको दाउ नेपालसँग पूर्ण अङ्क खोस्ने नै हुने छ।
त्यसअघि पुछारमा रहेको नेपाल भने एक दिन अगाडि मात्र स्कटल्यान्ड विरुद्ध रोमाञ्चक जित हात पारेपछि सातौँ स्थानमा चढ्न सकेको थियो।
त्यसो भन्दैमा नेपाल कमजोर टोली भने हुने छैन।
'हेड टू हेड'मा को अघि?
नेदरल्यान्ड्सविरुद्धको पछिल्लो ताजा इतिहास खोज्ने हो भने नेपालले कीर्तिपुर मैदानमा उसलाई मज्जाले हराएको थियो।
गत वर्ष कीर्तिपुर मैदानबाट सुरु भएको २०२३-२७ को पहिलो शृङ्खलाको रूपमा रहेको उक्त प्रतियोगितामा नेपालले कुशल भुर्तेलको ४ विकेटको मद्दतमा नेदरल्यान्ड्सलाई १३७ रनमा रोकेको थियो।
जवाफमा अनिल शाह र आशिफ शेख दुवैले अर्धशतकीय पारी खेल्दै विपक्षीलाई ९ विकेटले हराएका थियो।
तर त्यसको एक हप्तापछि नै नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले हराएर कीर्तिपुर मैदानमा नै बदला लिन भ्याएको थियो।
विश्वकप लीग २ शृङ्खलामा नेपाल र नेदरल्यान्ड्सबीचको यो दोस्रो भेट हुने छ।
नेपाल र नेदरल्यान्ड्स एकदिवसीय क्रिकेटमा अहिलेसम्म पाँच पटक आमनेसामने खेल भएका छन्। तीमध्ये नेपालले दुई खेल जितेको छ भने बाँकी तीन जित नेदरल्यान्ड्सको नाममा छ।
मैदान र मौसमको चुनौती
हुन त कीर्तिपुर क्रिकेट मैदानको फ्ल्याट पिचमा खेलिरहेको नेपाली ब्याटरका लागि स्कटल्यान्डको घाँसे पिचमा खेल्नु चुनौतीपूर्ण हुने आकलन गरिएको थियो।
तर त्यहाँको फोर्टहिल क्रिकेट मैदानमा दुई दिनअगाडि मात्र नेपालले २९७ रनको लक्ष्य पार गरिसक्यो।
यद्यपि स्कटल्यान्डको मौसम र मैदान अझै पनि नेपाली खेलाडीहरूको लागि सहज भने हुने देखिएको छैन।
स्कटल्यान्डमा अचेल करिब १३ डिग्री सेल्सिअस तापक्रम छ। हावा बेस्सरी चल्ने गर्छ। त्यो मौसममा अभ्यस्त हुन नेपाली टोलीले लन्डनमा पुगेर पाँच वटा मैत्रीपूर्ण खेल तथा स्कटल्यान्डमा पुगेर स्कटल्यान्ड 'ए' सँग दुई खेल खेलेको थियो।
नेपालको खेल हेर्न त्यहाँ पुगेका खेल पत्रकार विनोद पाण्डे भन्छन्, "विकेटको अवस्था गाह्रो देखिन्छ। बलरले बललाई दह्रो गरी समाउन समेत गाह्रो भइरहेको छ। चिसो छ र हावा धेरै नै चल्छ। त्यसैले हावामा हात र बलको लय नमिल्न सक्छ।"
पाण्डेका अनुसार स्कटल्यान्डसँगको खेलमा करण केसीले अन्तिम ओभरमा छक्काको लागि गरेको प्रहार हावाको वेगका कारण बाउन्ड्री लाइन नकट्दा दुई रन मात्र बनेको थियो।
कमजोर छैन नेपाल
काउन्टी क्रिकेटमा आबद्ध नेदरल्यान्ड्सको टोलीका मुख्य खेलाडी बास डे लीड अहिले टोलीमा छैनन्।
विकेटकीपर कप्तान स्कट इडवार्ड्स, मिचेल लेभिट, म्याक्स ओ डिड, विक्रमजित सिंह जस्ता खतरनाक खेलाडीले भरिएको नेदरल्यान्ड्सको टोली बलियो देखिन्छ।
नेपाल पनि कमजोर टीम होइन। विशेषतः स्कटल्यान्डविरुद्धको १ विकेटको रोमाञ्चक जितपछि खेलाडीहरू हौसिएका छन्।
सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले अघिल्लो खेलको समीक्षा गर्दै टोलीमा सुधार गर्नुपर्ने बताइसकेका छन्।
मुख्यतः बलिङ क्षेत्रमा टोलीले सुदृढ प्रदर्शन गर्नुपर्ने देखिएको छ। दीपेन्द्रसिंह ऐरीको ब्याट पनि चल्नुपर्ने बेला आएको देखिन्छ।
प्रशिक्षक स्टुअर्ट लले नयाँ खेलाडीमा जोखिम मोल्न सक्ने सम्भावना कम देखिन्छ। यदि उनले नयाँ गर्न खोजेमा तीव्र गतिका बलर नन्दन यादवले राष्ट्रिय टोलीमा 'डेब्यू' (पहिलो प्रदर्शन) पाउने छन्।
टस जितेमा नेपालले बलिङ रोज्ने सम्भावना धेरै रहने छ। पछिल्लो समय नेपालले रन पछ्याएर म्याच जित्न मन पराइरहेको छ।
समग्रमा बुधवारको खेलमा वरीयतामा नेदरल्यान्ड्स र मनोबलमा नेपाल उच्च अवस्थामा देखिन्छ।
पत्रकार पाण्डे भन्छन्, "निश्चित दिनमा नेपाल निकै बलियो हुने गर्छ भन्ने कुरा नेदरल्यान्ड्सले राम्ररी बुझेको छ।"
नेपाली टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), आसिफ शेख (विकेट कीपर), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, रिजन ढकाल, र नन्दन यादव।
(बीबीसी)