काठमाडौं । नेकपा माओवादीको उपाध्यक्ष एवंम पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो । अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।