काठमाडौं । पार्वती जोशी त्यस्तो व्यक्तित्व हुन्, जसले पहिलोपटक विना कुनै शेर्पाको सहयोग सगरमाथा चढेकी छन् । “सगरमाथा चढ्न शेर्पा चाहिन्छ“ भन्ने आम धारणा तोड्दै, रसुवा आमाछोदिङमो–४ की जोशीले सन् २०२५ मे १९ तारिख का दिन इतिहासमा पहिलोपटक विना कुनै शेर्पाको सहयोग ८८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो महिला बनेकी छन् । यति मात्र नभई रसुवा जिल्लाबाटै सगरमाथा चढ्ने पहिलो महिलाको सूचीमा पनि जोशीको नाम दर्ज भएको छ ।
‘मेरो यो यात्रा केवल आरोहण थिएन, यो एक सपना थियो, जुन उनले आत्मविश्वास, साहस र अथक तयारीका बलमा साकार भएको छ,’ उनी भन्छिन् । पिता कान्छा काजी (आलुम) जोशी र माता लक्ष्मी जोशी (घिसिङ) को छोरी जोशीको जन्म १९९२ डिसेम्बर २४ मा भएको हो । बाल्यकालदेखि नै खेलप्रेमी रहेकी उनी भलिबलकी उत्कृष्ट खेलाडी हुन । राष्ट्रियस्तरको प्रतियोगितामा समेत उनले आफ्नो खेल कौशल देखाएकी छन् । ‘भलिबल खेल्दै दौडिँदै गर्दा नजिकको हिमालले मलाई सधैं तानिरहन्थ्यो,’ उनी भन्छिन् ।
बाल्यकालदेखि नै पदयात्रा र खेलसंँग नजिक रहेकी उनी अन्तत ट्रेकिङ गाइड बन्न पुगिन् । हाल इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्वकर्ताका रूपमा कार्यरत रहेकी जोशीले ट्रेकिङका क्रममा धेरै हिमाली सौन्दर्यहरूको दृश्य अवलोकन गरेकी छन् । ‘यही बाटो हुँदै पर्वतारोहणमा लाग्ने रहर जाग्यो,’ उनी भन्छिन् ‘सन् २०१६ मा मैले पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिए । ‘जब पर्वतारोहणको तालिम लिएँ, तब लाग्यो–अब सगरमाथा पनि चढ्न सक्छु,’ पार्वतीले भनिन् । उनले एडभान्स कोर्स सन् २०२० मा पूरा गरिन् ।
पार्वतीले काठमाडौंबाट अप्रिल २० मा यात्रा सुरु गरेकी हुन् र उनले मे १९ मा सगरमाथाको शिखरमा पाइला टेकिन् र मे २४ मा पुनः काठमाडौं फर्किइन् । यो पूरा यात्रामा उनले कुनै शेर्पाको सहयोग नलिई आफ्नो निर्णय, आरोहण रणनीति र साहसमा भर गरिन् र इतिहास रचिन् । सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।