दोलखा । पशुपति चौलागाईं प्रादेशिक अस्पताल दोलखामा पहिलोपटक मृगौलाको डायलाइसिस सेवा सुरु गरिएको छ । दोलखा र दोलखा आसपास रहेका जिल्लाहरूका नागरिकहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले मृगौलाको डायलाइसिस सेवा गरिएको बताइएको छ ।
अस्पतालका अध्यक्ष सुभाष रिमालले अस्पतालमा शुक्रबारबाट डायलाइसिस सेवा सुरु गरेको उनले बताए । उनले दोलखामै पहिलोपटक उक्त रोगको सेवा प्रारम्भ गरिएको समेत बताए । डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक एक जनाबाट सेवा प्रवाह गरिए पनि आगामी केही साताभित्र दैनिक तीन÷चार जनासम्मलाई सेवा दिइनेछ । अस्पतालमा गत शुक्रबारदेखि हालसम्म छ दिनको अवधिमा चार जनाको सुखद् उपचार गरिएको उनको भनाइ छ ।
अस्पतालले छुट्टाछुट्टै डायलाइसिस भवन तथा वार्डको व्यवस्थापन गरेर लामो समयपछि जिल्लामै मृगौला रोगको डायलासिस सुरु गरेको हो । उक्त रोगको जिल्लामा उपचार नहुँदा यसअघि महँगो शुल्कमा काठमाडौं पुगेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर अब सहजरूपमा दोलखाको चरिकोटबाटै ग्रामीण क्षेत्रका बिरामीले डायलासिस गराउन सक्ने अध्यक्ष रिमालले बताए ।
सुरूवाती समयमा परीक्षणको रूपमा निःशुल्क चार जनाको डायलाइसिस गरिएको रिमालले बताए । अन्यत्र जाँदा बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन पशुपति चौलागाईं स्मृति अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको हो । ५० बेड क्षमता रहेकोे उक्त अस्पतालमा मृगौला डायलाइसिसको लागि ७ बेड राखिएको छ ।
अस्पताल प्रशासनले अहिले डायलाइसिस विभागको नियमित सेवा विस्तारको लागि सात बेडसँगै तीन जना मेडिकल अफिसर, पाँच जना नर्सको व्यवस्था मिलाएको छ । मृगौलाको डायलाइसिस गर्न बिरामीको लागि निकै खर्चिलो रहेको समेत उनको भनाइ छ । साता तीनपटक नियमित मृगौलाको अनिवार्य डायलाइसिस गर्नुपर्ने हुन्छ । जसको लागि एकपटकको छ हजार शुल्कमा लाग्ने रहेछ । आर्थिक अभाव र सामान्य मान्छेलाई उपचार गराउन समस्या हुने गर्छ ।