काठमाडौं । एसियन पेन्ट्सले नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२ का विजेता घोषणा गरेको छ ।
बुधबार काठमाडौंको होटल मेरियटमा एक समारोहबीच ‘१२औँ क्लाइडोस्कोप नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२’ को पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको हो ।
साथै, कार्यक्रम नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहप्रर्वद्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
यस वर्षको प्रत्यक्ष परियोजना कीर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२ हजार आठ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो । यस डिजाइनमा सहभागी पाँच जना विजेतालाई पुरस्कार वितरण गरिएको हो ।
विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार वितरण गरे । प्रथम पुरस्कार ख्वपः इन्जिनियरिङ कलेजकी अलिशा नकर्मीले हात पारिन् । प्रथम विजेता नकर्मीले ७० हजार रुपैयाँ पुरस्कार पाइन् । यस्तै, द्वितीय हुन सफल पुल्चोक क्याम्पसकी प्रियंका कौशिक क्षेत्रीले ४० हजार रुपैयाँ प्राप्त गरिन् ।
तृतीय पुरस्कार विजेता थापाथली क्याम्पसकी सुवी कँडेलले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सान्त्वना पुरस्कार विजेता बने ख्वपः इन्जिनियरिङ कलेजकी माइका पोखरेल र काठमाडौं इन्जिनियरिङ कलेजका आयुष मल्ल । दुवै जनाले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खेलकुदमन्त्री चौधरीले विजेतालाई बधाई दिँदै युवा प्रतिभाले नै देशको भविष्य उज्जवल बनाउने बताए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
यस्तै, देशभरिका प्रतिष्ठित आर्किटेक्चरल कलेजका वरिष्ठ प्राध्यापकहरू, पूर्वविजेता, प्रतियोगितामा सहभागी विद्यार्थीहरू तथा ख्यातिप्राप्त आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै एसियन पेन्ट्सका कन्ट्री डिरेक्टर अभिमान ब्रारियाले क्लाइडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सिर्जनशीलता र पेसागत तयारीमा सशक्त बनाउनु रहेको बताए ।
उक्त परियोजनामा सहभागीहरूले नवीनतम् डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरे । क्लाइडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगीबीच सहकार्य गर्दै विद्याथीहरूलाई व्यावहारिक ज्ञान, सिर्जनशीलता र पेशागत तयारीमा सशक्त बनाउनु रहेको छ । प्रतियोगिताले विद्यार्थीहरूलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै उनीहरूमा क्षमता उजागर गर्न मद्दत पुर्याउन रहेको छ ।