काठमाडौं । हामी नेपाली आफ्नैपनमा गर्व गर्छौं, कसैसँग झुक्न जान्दैनौं, कसैका दास भएका छैनौं । साना कुरामा खुशी भएर बाँच्न सक्छौँ । हामीलाई धेरै ठूलो कुरा चाहिँदैन खुशी हुनलाई । सामान्य कुरामा रमाउँछौं, आफ्नैपन छ, सबैलाई आफ्नै देख्छौँ । साथीभाइ, इष्टमित्र अनि परिवारसँग बस्न रुचाउँछौँ । ठूलाको बचनको कदर गर्छौं, सम्मान गर्छौं, आफ्नै आफ्नै जात धर्म छ । दया भावना राख्छौँ, करुणा छ हामीमा । एउटा असल समाज बनाउन कोसिस गर्छौं । हामी चार जात र छत्तीस वर्ण भएका, भाषाको धनी, संस्कृतिको धनी र कला र कौशलको धनी देशका नागरिक हौँ, त्यसैले यो अत्यन्तै गर्वको विषय हो । त्यसको साथै, प्राकृतिक सम्पदाको धनी देशमा बस्ने नागरिक । यति धेरै धनी हुँदाहुँदै पनि हामीले गर्नसक्ने धेरै काम नगरेको हो कि जस्तो लाग्छ ।
विश्व मानचित्रमा नेपाल सानो भू–परिवेष्ठित राष्ट्र हो । गरौँ भने र आँट गर्ने हो भने यो राष्ट्रलाई हिराको टुक्रा बनाउन सकिन्छ । हामी अवश्य पनि बहादुर छौँ, तर गर्नुपर्ने काम नगरेर खाली बहादुरीको बिल मात्र बोकिएको हो कि जस्तो लाग्छ । सानो देशमा सबै नागरिकले काम गर्ने हो भने विकासको मूल फुटाउन गाह्रो छैन ।
हो, नेपालबाटै नेपाल हेर्दा ठीकै लाग्छ, तर बाहिर गएर नेपाल हेर्दा र बाहिरका मानिसहरू, नेपाली नै हुन् वा विदेशी, उनीहरूका नजरमा नेपालको स्थिति नाजुक देखिएको आभास हुँदैछ । संसारका मानिस र नेपाली नागरिकलाई जुध्दा नेपालीले पनि उनीहरूलाई टक्कर दिन सक्छन् भन्ने देखिन्छ । नेपाली विदेश गयो भने सबै उतैको अनुशासन, उतैको नियम कानुनमा बाँधिएर बस्न सक्छन् । आफ्नो काम आफैँ गर्न सक्छन् । अरूको मुख नताक्ने, अनावश्यक अर्थमा अर्थ नबर्थको कुरा गरेर नबस्ने, समयको महत्व बुझ्ने, सभ्य हुने, अनावश्यक होहल्ला नगर्ने । सडक अनुशासन पालना गर्ने, राज्यको नियम कानुनको पालना गर्ने, प्रतीक्षा गर्न सक्ने । जति मिहिनेत गर्न पनि तयार हुने । समयमा काम सकाउने, जिम्मेवार हुने सबै पालना गर्न सक्छन् ।
त्यही नेपाली देशबाट टाढा गयो भने यी सबै कुराहरू पालना गर्न सक्छ भने देशमा किन त्यही नेपालीले नियम कानुन पालना गर्दैन ? त्यो सोचनीय अवस्था भएको छ । यो राज्यले जनतालाई सिकाउन नसकेको हो या जनता आफैँ जागरुक हुनु पर्ने हो, यो को दोष हो? अधिकार छ भन्दैमा अरूको अधिकारको हनन हुने र आफ्नो मात्र स्वार्थ पूरा हुने काम कदापि गर्नु हुँदैन ।
सडकमा आन्दोलन गर्दा अरूलाई असर पर्छ, हर्न बजाउँदा अरूलाई डिस्टर्ब हुन्छ, बाटोमा फोहोर फाल्दा समाजमा नराम्रो हुन्छ, सार्वजनिक स्थानमा अरूलाई डिस्टर्ब गर्न पाइँदैन, आफ्नो कामको जिम्मा आफैँ लिनु पर्छ र गर्नु पर्छ भन्ने कुराहरू आम मानिसमा हुनुपर्छ । चाहिने कुराहरूमा नियम कानुन कडा हुनै पर्छ । विकसित राष्ट्रहरूमा सडकको जरिबाना अत्यन्तै छ । सडकको नियम मानेन भने नियम उल्लङ्घनअनुसारको जरिबाना छ, त्यसैले त्यसलाई कडाइका साथ पालना गर्छन् र राज्यले पनि जरिबानास्वरूप धेरै राजस्व उठाएको छ र देश विकासमा टेवा समेत पुगेको छ । त्यसैले राज्यले पनि कडा नियम लागू गर्नुपर्छ र पालना गर्नेले पनि कडाइका साथ पालना गर्नुपर्छ । सडकले हाम्रो सभ्यता झल्काउँछ । त्यसैले सडकमा सभ्य हुन बाध्य गराउने राज्य र नियम मान्ने जनता दुवै जिम्मेवार हुनुपर्छ ।
हामीकहाँ धेरै राजनीतिक धाक चल्छ । वंशानुगत चल्छ । सक्नेले नसक्नेलाई सडकमा पाल्नुपर्ने त नियम नै हो । वार्षिक हजारौँ मानिस सडक दुर्घटनाबाट मृत्यु हुँदा पनि कसैको चेत नआएको देख्दा उदेक लाग्छ । हो, हाम्रो बाटो घाटोको स्तर सबैतिर राम्रो छैन, तर भएकोमा त नियम पालना गरौँ र गर्न सुरु गरौँ ।
हामीकहाँ सबैलाई हतारै हुन्छ, कसैलाई कुर्ने फुर्सद नै हुँदैन, पलाएर हुन्छ कि, धुलो उडाएर हुन्छ कि, अनावश्यक हर्न बजाएर दुख दिई अघि बढ्नै पर्छ, जुन देशभरि नै असहनीय छ र पूरै नै बेथितिमा छौँ हामी आजको दिनसम्म पनि ।
त्यसैले हामी विकसित नहुनुमा जनतालाई प्राथमिक शिक्षादेखि नै व्यावहारिक शिक्षा दिन नसकेको, खानामा नक्कली बढी भएको, स्थानीय उत्पादनलाई बेवास्ता गरेर आयात गर्दै बाहिरी खानेकुरालाई ध्यान दिएको, जनतालाई आफ्नै मालिक खानेकुराले कत्तिको फाइदा दिएको छ भन्ने जागरण गराउन नसकेको कारणले हो ।
स्थानीय उत्पादनलाई सरल बजारीकरण गराउन नसकेको, अग्र्यानिक वस्तु उत्पादन गर्न नसकेको, ठाउँअनुसारको खेती गराउन नसकेको, आफ्नै ठाउँलाई चिनाउन नसकेको, बढी नक्कल गरेको तर आफ्नो स्रोत नभए पनि बढी नक्कल गरेको । ग्रामीण उद्योग धन्दा गराउन नसकेको, साथै सरकारको तर्फबाट समेत श्रम बजारलाई चाहिने मानव संसाधन उत्पादन गराउन नसक्नुले देशमा बेकामे अवस्था आइरहेको देखिन्छ ।
देशको युवालाई दक्ष बनाई देशमै बस्नसक्ने वातावरण र विदेशमा गरेजस्तो गर्नसक्ने श्रम देशमै गराउन सके देश कति राम्रो हुन्थ्यो होला । सबै मानिसलाई अनुशासित बनाउन पहल गरौँ । हात हातमा सीप दिऔँ । मानव धनलाई चिनौँ । युवारूपी गहनालाई चिनौँ । सरकार सभ्य बनोस्, जनता सभ्य हुन् । नेपाल विकासोन्मुख राष्ट्र भए पनि, सानो भए पनि गर्व गर्नलायक होस् । भएको चिजको महत्व बुझौँ, सबै तिर एकै पटक विकास गर्न गाह्रो छ हो त्यो सबैलाई थाहा छ, तर भएको चिजको महत्व बुझाऔँ, जताततै अस्तव्यस्त नबनाऔँ ।
विकसित राष्ट्रहरू हेर्दा उनीहरूले धेरै अगाडि मानव सभ्यता सिकेको, विकासको मोडल सिकेको, सडक सञ्जालको मोडल सिकेको, बस्ने तरिका सिकेको, एउटा सानो ठाउँ भए पनि त्यहाँ के के चाहिन्छ त्यसको अध्ययन गरी त्यो ठाउँको आधारभूत आवश्यकताको पूर्ति गर्न कोसिस गरेको छ, सीप सिकाई आत्मनिर्भर बनाएको छ । प्रकृति र विकास सँगसँगै लगेको छ ।
आन्तरिक पर्यटकलाई ठाउँअनुसारको महत्व बुझाएर सञ्ञिा विकास गरेको छ, पर्यटकीय क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानी, विश्रामस्थल, पार्किङको साथै स्थानीय गाइडको व्यवस्था गरी, पार्किङ फुल छ भने जानकारी दिने, पर्यटकलाई जानकारी गराउने, ’हप अन हप अफ’को गाडीको व्यवस्था गर्ने र स्थानीय स्रोतको प्रयोग गर्ने र बिक्रीवितरण गर्नेजस्ता कार्यले त्यो ठाउँको विकास र आफ्नै आर्थिक अवस्थामा फड्को मारेका छन् ।
हामी दिनप्रतिदिन शिक्षित हुँदै गइरहेका छौँ, तर हाम्रो शिक्षाले हामीलाई के सिकाएको छ त्यसमा ध्यान दिन जरुरी भएको छ । शिक्षित हुनु भनेको किताबी ज्ञान मात्र होइन, शिक्षित व्यक्ति देशको मेरुदण्ड हो । त्यही मेरुदण्डलाई आधार मानेर देशलाई आधुनिकतातर्फ लैजानु हाम्रो कर्तव्य हो । तर आधुनिकता भनेको राम्रो कुराको सबै नक्कल गर्दै, संसारको विकासको ढाँचा सिक्नु नै असल नागरिकको परिचय दिनु हो ।
उद्योग धन्दा नसक्नु होइन, थप्नु पर्छ । विकासको नाममा विनाश हुनु हुँदैन । संसारका मानिसले काम गर्छन्, त्यसैले मैले पनि काम गर्न पर्छ भन्ने धारणा राख्नु पर्छ । काम सानो ठूलो हुँदैन भन्ने धारणा राख्नु पर्छ । राज्य नागरिकको साथी बन्नुपर्छ, तर जनता पनि राज्यको सहयोगी हुनुपर्छ । आफूले पाएको अधिकारको पालना गर्नुपर्छ । देश साझा हो, सबैको फूलबारी हो भन्ने आत्मसात् गरी सभ्य हुनुपर्छ । नयाँ नयाँ नवप्रवर्तन (इनोभेसन) गरी जनतालाई संलग्न गराउनु पर्छ । सडकमा आन्दोलन होइन, मानिसले हिँड्न पाउनु पर्छ अनि गाडी सहजरूपमा चल्न पाउनुपर्छ । यो सधैँको समस्याले गर्दा आउने पर्यटकहरू फर्कन्छन् । आएका पर्यटक पनि बस्ने समय छोट्याएर बाहिर जान्छन्, यसले देशको छवि (इमेज) खस्कँदै गएको छ । बुद्ध जन्मेको देशमा अशान्तिको धुन गुन्जिनु हुँदैन । जुनसुकै ठाउँबाट नेपाल प्रवेश गर्दा म शान्ति क्षेत्रमा प्रवेश गरेँ भन्ने अनुभूति गराउनु पर्छ । बोलेर मात्र होइन, व्यवहार राम्रो गरौँ । यसलाई व्यवहारमा उतारौँ । भएको स्रोतलाई प्रयोग गरी माथि उठ्ने प्रयास गरौँ । सबै मिलेर ‘म’ होइन ‘हाम्रो देश’लाई अगाडि बढाऔँ ।
विदेश बस्ने नेपालीले विदेशमा राम्रो गर्न सक्छन्, सबै सिस्टमको अनुशरण गर्न सक्छन् भने नेपालमा बस्ने नेपालीले पनि त्यस्तै परिश्रम नेपालमै गर्ने आधार तयार गरौँ । जसले गर्दा विदेशमा बसोबास गर्ने नेपालीले यहाँको अवस्था राम्रो देखेर नेपाल फर्किने आधार बनोस् वा नयाँ–नयाँ व्यवसाय गर्ने आधार मिलोस् । देशमा लगानीको वातावरण र सिस्टमको देश हुने हो भने ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्रिन्थ्यो र देशमा नयाँ–नयाँ उद्योगको सुरुवात भई नयाँ–नयाँ रोजगारीको सिर्जना गर्न सकिन्थ्यो । नियम पालन गराउने कुरामा दण्ड र जरिबाना गराउनै पर्छ । गल्ती गर्नेले सजाय नपाउने हो भने भद्रगोल तन्त्रको हाबी हुन्छ । यसले विकास होइन, दुर्गति निम्त्याउँदै जान्छ ।
विकसित राष्ट्र पनि यत्तिकै जादु गरेर रातारात विकास भएको होइन रहेछ, कामलाई प्राथमिकता, उचित संयन्त्रको विकास, निरन्तर प्रयास र विविध खोज तथा अनुसन्धानले नै आजको विकसित मुलुक भएको पाइयो ।