काठमाडौं । नेपालको जलविद्युत्मा लगानी गर्न आएका विदेशीको करिब ३० करोड लगानी किर्ते हस्ताक्षर गरेर गायब पारेको पाइएको छ ।
सिंगापुरको अजाक्स इन्फ्रा प्रालिले एफडीआईमार्फत कास्की जिल्लाको मादीमा करिब २५ मेगावाट विद्युत् उत्पादन गर्न भन्दै गरेको लगानी नेपालीहरू मिलेर जालझेलमा पारी हस्ताक्षर नै किर्ते गरेर गायब बनाएको पाइएको हो ।
अन्नपूर्ण ग्रुप प्रालिको ९० प्रतिशत सेयर किनेर कास्कीमा रहेको मादी खोलाको विद्युत् उत्पादनमा लगानी गर्दै आएको सो कम्पनीका प्रतिनिधिको हस्ताक्षर किर्ते गरी ग्रुपको नाममा रहेको करिब ८० रोपनी जग्गासहित हाइड्रोपावर बनाउन नेपाल विद्युत् प्राधिकरणसँग गरिएको पीपीए समेत अर्को कम्पनीमा पुगेको पाइएको हो ।
सिंगापुरको विदेशी कम्पनीसँग नजिकिएका काठमाडौंको कान्तिपथमा रहेको यलो प्यागोडा होटलका मालिक अनिल राजभण्डारीका सालोहरू ज्ञानेन्द्रप्रसाद प्रधान र निरेन्द्रप्रसाद प्रधानले विदेशीको हस्ताक्षर नै नक्कली गरी अन्नपूर्ण ग्रुपको नाममा रहेको जग्गा आफ्नो भिनाजु भण्डारीको नाममा रहेको बज्र इनर्जी भेन्चर्स प्रालिको नाममा नामसारी गराएका थिए ।
प्रधानद्वयले विदेशी कम्पनीका प्रतिनिधिको हस्ताक्षर किर्ते गरेर जग्गा नामसारीदेखि अन्नपूर्ण ग्रुपसँग भएको पीपीए समेत आफ्नो कम्पनीमा लैजान सफल भएका हुन् । साथै, उनीहरूले विद्युत् विकास विभागसँगको सेटिङमा अन्नपूर्ण ग्रुप प्रालिको नाममा रहेको अनुमति पत्र २०६९ असोज ११ मा खारेज गरी त्यसको सात दिनपछि नै सो अनुमति पत्र बज्र इनर्जी भेन्चर्सको नाममा लैजान सफल भएका थिए ।
जग्गा र पीपीए आफ्नो कम्पनीको नाममा बनाएसँगै यस कम्पनीले विभिन्न बैंकबाट ऋण समेत लिनका लागि स्वीकृती लिएको पाइएको छ । अजाक्स इन्फ्रा प्रालिले साइटमा पहुँच सडक बनाउन, जग्गा अधिग्रहण गर्न र परियोजनाको ईआईए र डिजाइनमा काम गर्न भन्दै करिब ३० करोडभन्दा बढी खर्च गरिसकेको बताइएको छ ।
हस्ताक्षर किर्ते गरेर आफ्नो सेयर रहेको अन्नपूर्ण ग्रुपको नाममा रहेको जग्गा नै अर्को व्यक्ति हुँदै बज्र इनर्जी भेन्चर्स प्रालिको नाममा पुगेको थाहा पाएपछि कसरी सम्भव भयो भन्दै कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग, विद्युत् विकास विभागमा जाँदा अन्नपूर्ण ग्रुपको दर्ता, प्रबन्धपत्र नियमावलीसहित जग्गा बेच्न गरेको माइन्युटलगायत अन्नपूर्ण ग्रुपको कुनै पनि कागजपत्र नभेटिएपछि थप शंकास्पद भएको पाइएको हो ।
किर्ते गरी अन्नपूर्ण ग्रुपको सबै सम्पत्ति आफ्नो नाममा बनाएका प्रधानद्धयले आफ्नो कम्पनीको सम्पूर्ण सेयर भिजन लुम्बिनी ऊर्जा लिमिटेडलाई बेच्नु पनि रहस्यमयी छ ।