काठमाडौं । सेयरबजार गतसाता ५२ अंकले घट्यो । सातामा चार दिन मात्रै सेयर कारोबार भएको छ । त्यसमध्ये तीन दिन नेप्से परिसूचक घट्यो भने एक दिन सामान्य अंकले बढ्यो ।
त्यसो त बजार बजेट सार्वजनिक भएयता नै दबाबमा देखिन्छ । सूचकसँगै कारोबार रकममा पनि दबाब परेको छ । केन्द्रीय बैंकले बजारलाई फाइदा पुग्नेगरी नीतिगत सुधार गरिदिएको छ । बजेटमा पनि बजारलाई प्रभाव पार्न सक्ने कुनै नीति आएको छैन । तर पनि बजार गत साता घट्न पुग्यो ।
बजार केही घटेको भए पनि समग्रमा हेर्दा साइडवेज प्रवृत्तिमा देखिन्छ । किनभने करिब नौ महिनायता बजार २६ सय र २८ सयको बीचमा तलमाथि गरिरहेको छ । अहिले पनि बजार २६ सय ४० विन्दुमा छ ।
दैनिक सात अर्बभन्दा बढी कारोबार हुने गरेकोमा गत साता बुधबार पाँच अर्ब १६ करोड रुपैयाँमा झ¥यो । यसले लगानीकर्तालाई आश्चर्यमा पारेको छ । विश्लेषकहरूले अब लगानीकर्ताले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई पर्खिएको हुन सक्ने अनुमान गरेका छन् । किनभने व्याजदर सस्तो छ, बैंकमा तरलता प्रशस्त छ । तर पनि ठूला र संस्थागत लगानीकर्ताले ऋण लिएर बजारमा लगानी बढाउन सकेका छैनन् । बजारमा धेरै ठूलो अंकको गिरावट आएको छ छैन तर पनि दबाबमै देखिन्छ ।
अहिले बैंकर र व्यवसायी छुट्याउने विषयले पनि लगानीकर्ताको मनोविज्ञानमा असर पारेको देखिन्छ । आगामी मौद्रिक नीतिमा अर्थतन्त्र चलायमान हुने किसिमले नीतिगत व्यवस्थाहरू आएमा बजारले सकारात्मक गति लिन सक्छ । निक्षेप बढेकोबढ्यै हुने तर कर्जा विस्तार सुस्त हुने प्रवृत्ति देखिएको छ । त्यसैले मौद्रिक नीति माग पक्ष बलियो हुनेगरी आउनुपर्नेमा अर्थशास्त्रीहरूले जोड दिँदै आएका छन् ।
निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरूको वितरणयोग्य नाफा प्रभावित भएको देखिन्छ । यसको असर बजारमा देखिनु स्वाभाविक हो । गत साता चार कारोबार दिनमा २९ अर्ब तीन करोडको मात्रै सेयर किनबेच भयो । दैनिक औसत कारोबार सात अर्ब २५ करोडको कारोबार भएको छ । सातामा लगानीकर्ताको सम्पत्ति ८४ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि ३१ अर्ब रुपैयाँ घटेर १४ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ ।