काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको बिरुवाहरू वितरण गरेको छ ।
वित्तीय संस्थामा आबद्ध ग्राहक महिला सदस्यहरूलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं.७ र ८ का ९९ घरधुरीका महिला ग्राहक सदस्यहरू प्रत्येक लाई आँप, लिची र कागतीका बिरुवाहरू वितरण गरिएको हो ।
फलफूलका बिरुवाहरू वितरण कार्यक्रम शम्भुनाथ नगरपालिकाको वाड नं. ८ स्थित श्री आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यसप्रकारका विरुवाहरू वितरण गरी कृषि उद्यममा सघाउ पुर्याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यवाद दिए । त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले महिलाहरूलाई फलफूलका बिरुवा वितरणबाट गाउँमा फलफूल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शाखा प्रबन्धक अनिलकुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैरआर्थिक सहयोग तथा उद्यमशीलता प्रवद्र्धनका लागि कार्य गर्दै आएको बताए ।