दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो पालिका बनेको हो ।
गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६६ जना मजदुरलाई उक्त कोष आबद्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले एक कार्यक्रमका बीच श्रमिकहरूलाई मजदुर कोषमा सूचीकृत गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि, २०८१ को दफा १२ बमोजिम गठित वडास्तरीय विपन्न मजदुर छनोट समितिले दफा १३ को उपदफा १ बमोजिम सिफारिस गरेको अंकलाई गाउँपालिका मजदुर सञ्चित कोष सञ्चालन तथा विपन्न मजदुर छनोट समितिले पुनरावलोकन गरी ७८ जनालाई कोषमा आबद्ध गराउने निर्णय गरेको थियो । तीमध्ये पहिलो चरणमा ६६ जनालाई सूचीकृत गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गरेको उनले बताए ।