काठमाडौं । फोटो पत्रकार(पिजे)क्लब र रोटरी क्लब अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडांैमा शनिबार एक कार्यक्रमबीच फोटो पत्रकार क्लवका तर्फबाट अध्यक्ष द्वारिका प्रसाद काफ्ले, पूर्वअध्यक्ष विकास कार्की र सचिव कविन अधिकारी तथा रोटरी क्लब अफ काठमाडांै सर्कलबाट चार्टर्ड प्रेसिडेन्ट नुगल आनन्द वैद्य, प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्य र प्रेसिडेन्ट इलेक्ट निलहरी कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै चार्टर्ड प्रेसिडेन्ट नुगल आनन्द वैद्यले रोटरीले सन् २००६ देखि विभिन्न क्षेत्रमा रोड सेफ्टीसम्बन्धी विभिन्न संघसंस्थासँगको सहकार्यमा कार्यक्रम गर्दै आएको जानकारी दिए । सोहीअनुरूप हाल फोटो पत्रकारहरूसँग जोडिएर काम गर्न लागिएको बताए ।
नेपालमा बढ्दो सडक दुर्घटना एउटा चिन्ताको विषय भएको भन्दै दुर्घटना न्यूनीकरण गर्न एक मात्र सरल उपाय भनेको आम जनमानसमा जनचेतना फैलाउनु भएकाले विद्यालयस्तरदेखि घरघरसम्म विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउनुपर्ने उनले बताए । यसका लागि सबै संघसंस्थासँग सहकार्य जरुरी रहेको वैद्यको भनाइ थियो । प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्यले सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीेले देश र समाजका हरेक वर्ग र उमेर समूहमा सडक सचेतना विकास गर्न र सडक दुर्घटनाबाट ठूलो संख्यामा हुने जनधन क्षति न्यूनीकरणमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताए ।
फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेले दैनिकजसो सडक दुर्घटना र दुर्घटनाबाट ठूलो जनधनको क्षति न्यूनीकरण गर्ने जनचेतनामूलक क्रियाकलापमा क्लब जोडिन लागेको बताए । बढ्दै गएको सडक दुर्घटना र दुर्घटनाले पारेको प्रभाव फोटोको माध्यमबाट बालबालिकादेखि आम जनमानससम्म जनचेतना फैलाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । क्लबका पूर्वअध्यक्ष विकास कार्कीले सडक दुर्घटनासम्बन्धी फोटो प्रदर्शनीले समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।