वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वप्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्वसहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्धविच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ ।
ह्वाइट हाउसका अधिकारीहरूकाअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेको बताएका छन् । ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लबजाने क्रममा पत्रकारहरूसँग भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु । म एलन मस्कको बारेमा सोचिरहेको छैन । म उहाँको राम्रो कामको लागि कामना गर्दछु ।’
मस्कको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले एबीसीसँगको कुराकानीमा भने, ‘तपाईँको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’? म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन ।’ ट्रम्पले पछि फक्स न्यूजसँग पनि मस्कले सोच्ने शक्ति गुमाएको बताए ।
ट्रम्प र मस्कबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)’मा चार महिना काम गरेपछि आफ्नो लागत कटौतीको भूमिकाबाट मस्कले एक साताअघि मात्र बिदा लिने निर्णय गरेका थिए । व्यापार तनावका समाचारहरू आइरहेका बेला उनीहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको छ । मस्कले गत मंगलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस)बाट एक टिप्पणीमार्फत जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए ।
एलोन मस्कले ‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको एउटा पोस्ट हटाएका छन् । अमेरिकी प्रविधि अर्बपति एलन मस्कले डोनाल्ड ट्रम्पको नाम दिवङ्गत यौन अपराधी जेफ्रे एप्स्टिनको फाइलमा रहेको एक विवादास्पद आरोप लगाएका थिए जुन पछि हटाएका छन् । बिहीबार मस्कले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवङ्गत एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाएका थिए ।