दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा ३४ जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक रानाले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको, १५ जनाको मध्यम र बाँकीको अवस्था सामान्य रहेको बताएका छन् । प्रादेशिक अस्पताल तुलसीपुरमा घाइते सबैको उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेको बताए ।
इलाका प्रहरी कार्यालय दमारगाउँबाट प्रहरी नायब निरीक्षक पारेश्वर डाँगीको कमान्डमा तीन र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक रानाको नेतृत्वमा १२ जनाको टोली दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै घटनास्थलमा खटिएका थिए ।
ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो । प्रहरीले घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पठाइएको जनाएको छ । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गरे ।