काठमाडौं । आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहने नेतामध्येमा पर्छन् प्रधानमन्त्री केपी शर्मा ओली। आफैँ पनि सामाजिक सञ्जालमा सक्रिय देखिने प्रधानमन्त्री ओली गत साताभरि दुई प्रकरणमा 'ट्रोल'को सिकार बने।
उनी ट्रोल बन्नुको कारण एउटा थियो अढाई वर्ष अघि बोलेको आफ्नै भनाइसँग बाझिने गरी दिएको पछिल्लो अभिव्यक्ति।
पहिले र अहिलेका अभिव्यक्तिको भिडिओ एकै ठाउँ राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्री ओलीमाथि व्यङ्ग्य गरे।
पृथ्वीनारायण शाहबारे ओलीको टिप्पणी
त्यस बेला सत्ता साझेदार दलका नेता रहेका ओली २०७९ पुस २७ पृथ्वी जयन्तीका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा गएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछानेको छेवैमा उभिएका ओलीले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले 'पुर्याएको योगदान'को प्रशंसा गरे।"जुन अगुवाइ गर्नुभयो, नेतृत्व गर्नुभयो र देश एकीकरण भयो एउटा देश भयो, नेपाल भयो, हामी नेपाली भयौँ त्यस कारण पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले बिदा दियो," पृथ्वी जयन्तीमा सरकारले दिएको बिदाबारे प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको प्रमुख साझेदार दलका अध्यक्ष ओलीले भने।अहिले प्रधानमन्त्री रहेका तीनै केपी ओलीले गत शनिवार नेपाल बुद्धिजीवी परिषद्को अधिवेशनमा 'पृथ्वीपथ'बारे टिप्पणी गर्ने क्रममा शाहको आलोचना गरे। आफ्नो नेतृत्वको सरकारलाई अप्ठ्यारो पर्ने गरी राजतन्त्र समर्थक दल र समूहहरूले गरिरहेको प्रदर्शनबीच ओलीले त्यस बेला मानिसहरूलाई "मासेर" शाहले एकीकरण गरेको टिप्पणी गरे।
"पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए? पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई त मास्ने कुरा गर्थे त," ओलीले २०८२ जेठ १७ गते भने।
'झोले' अभियानउनी ट्रोल भएको अर्को प्रसङ्ग थियो दलका कट्टर समर्थकहरूलाई व्यङ्ग्य गर्न सामाजिक सञ्जालमा प्रयोग गरिने शब्द 'झोले' को समर्थमा सुरु गरिएको अभियान। ओलीले आफ्नो सामाजिक सञ्जालमा 'म झोले हो' लेखिएको तस्बिर राख्दै "सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ" भनेका छन्।
तर सरकारमा रहेको पार्टीका नेता कार्यकर्ताको यो अभियानमाथि ट्रोल गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले 'म झोले होइन' भन्ने अभियान चलाए।
आफ्नै भनाइका कारण ओली ट्रोल बनेको यो पहिलो पटक चाहिँ होइन। कहिले नेपालको आफ्नै पानी जहाजको टिकट काट्ने मिति घोषणा गरेका कारण त कहिले घरघरमा पाइपबाट ग्यास पुर्याउने वाचा गरेका कारण पनि ओली ट्रोलमा पर्दै आएका छन्।प्रचण्ड बनिरहन्छन् ट्रोलको सिकार
अभिव्यक्तिकै कारण ट्रोल बन्ने ओली एक मात्रै नेता पनि होइनन्। फरकफरक दलसँग गठबन्धन बनाएर पटकपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि समयसमयमा ट्रोल भइरहन्छन्।
गत वर्ष असारमा पदबाट बाहिरिएपछि "२०८४ सम्म सरकारमा नजाने" अभिव्यक्ति दिएका प्रचण्डले गत चैत अन्त्यतिर सत्ता गठबन्धनमा रहेका एमाले र नेपाली कांग्रेसका नेताहरूबीच खटपट देखिएपछि "नयाँ वर्षसँगै नयाँ सरकार" बन्ने दाबी गरे।
त्यस बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रचण्डलाई उनकै पुरानो भनाइ सम्झाइदिएका थिए।
अरू नेता पनि परिरहन्छन् ट्रोलमाकांग्रेस सभापति शेरबहादुर देउवा कम बोल्ने भएका कारण हुन सक्छ उनी कमै ट्रोलमा पर्ने नेता हुन्। तर परराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजू राणा पनि आफ्ना अभिव्यक्तिका कारण ट्रोलमा पर्दै आएकी छन्।
हालै मात्र पनि उनले विदेशमा जाँदा आफूलाई नेपालको परराष्ट्रमन्त्रीका रूपमा सम्मान गरिएको तर नेपाल आउँदा निराश भएको बताउँदा उनी ट्रोलको सिकार भएकी थिइन्। चुनावमा बेला मतदातालाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभनदेखि आफू किसानको छोरी भएको बताउँदा पनि राणा ट्रोलमा परेकी थिइन्।
गत साता प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गर्दाको तस्बिरसँगै उनको पुरानो सामाजिक सञ्जाल पोस्ट पनि भाइरल बन्यो। राजसंस्था पुनर्स्थापनाको माग राखेर भएको प्रदर्शनका क्रममा पक्राउ परेपछि "राजसंस्था पुनर्स्थापनाको सम्भावना सकियो" भनेर उनै थापाले तीन वर्षअघि फेसबुकमा लेखेको पोस्ट धेरैले सम्झाइदिए।
गत मङ्सिरमा उपचुनावका बेला आफ्नो दलका उम्मेदवारको प्रचारका लागि कीर्तिपुर पुगेका कांग्रेस महामन्त्री गगन थापाले युवाहरूले कीर्तिपुरको डाँडामा बसेर चार लाख रुपैयाँ कमाउन सकिने दाबी गरेपछि उनी पनि ट्रोलमा परे।
"कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरू अबको पाँच छ सात आठ वर्षपछि कतार, मलेशिया, इजरेल जाने छैनन्, यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई तीन चार लाख आम्दानी गर्ने बनाउन सकिन्छ," थापाले भनेका थिए।राजनीतिशास्त्री कृष्ण पोखरेल त्यस बेला थापाको भनाइ अव्यावहारिक नभए पनि बेरोजगारी र अव्यवस्थाका कारण निराश भएका युवाहरूले उक्त विषयलाई ट्रोल बनाएको बताउँछन्।
"त्यो कुरा असम्भव होइन। उनले नराम्रै बोलेका पनि होइनन्," पोखरेल भन्छन्।
"पत्याउने खालको वातावरण बनाउनुपर्यो। त्यसलाई साँच्चिकै विश्वास गर्ने खालको माहौल र नीति बनाएर देखाउनुपर्यो।"
ट्रोल सँगै हुर्कँदै छ 'क्यान्सल कल्चर'
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभागका प्राध्यापक डा. शिशिर सुब्बा नेताहरू ट्रोल बन्ने प्रवृत्तिलाई अहिले विकास भइरहेको 'क्यान्सल कल्चर'सँग जोडेर हेरिनुपर्ने बताउँछन्।
"आफूले भनेजस्तो भएन वा कुरा मिलेन भने त्यो मान्छे वा समूहलाई नै सामाजिक सञ्जालबाट अस्वीकार गर्दिने परिपाटी चलिरहेको छ," क्यान्सल कल्चरबारे उनी भन्छन्।
"अहिले संसारभरि नै प्रजातन्त्र र स्वतन्त्रता भएका देशहरूमा यो हावा चलिरहेको छ।"
मनोविज्ञानका प्राध्यापक डा. सुब्बा नेताहरू आफ्नै भनाइका कारण ट्रोल बन्नुमा उनीहरूकै कमजोरी पनि रहेको बताउँछन्।
"तर्क कमजोर बनेर गएपछि अनेक कुरा बोल्न थाल्छन् र ट्रोल बन्छन्," उनी भन्छन्।
डा. सुब्बाका बुझाइमा अहिले आफ्नो भनाइ धेरैसम्म पुर्याउँदा त्यसको प्रभाव पनि ठूलो हुने भएका कारण मानिसहरूले पैसा खर्च गरेर पनि प्रचार र ट्रोल गरिरहेका छन्।
"तर अहिले मानिसहरूले जसले जे भन्यो त्यो पत्याइहाल्ने अवस्था चाहिँ छैन। अलिकति बुझेर मात्रै ग्रहण गर्ने पनि छ," उनी भन्छन्।
प्राध्यापक डा. सुब्बा यस्ता अभ्यासले तर्क भन्दा लोकप्रियतालाई मलजल गर्ने भएका कारण प्रजातन्त्रलाई नै कमजोर बनाइरहेको बताउँछन्।
"आफ्ना समर्थकहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाउने आम मनोविज्ञानले पनि यसमा काम गरिरहेको छ," डा सुब्बा भन्छन्।
उनका अनुसार नेपालमा मात्रै नभएर दक्षिण एशियाली अन्य देशहरूमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ यस्तै प्रवृत्ति देखिएको छ।
'अहिले राजनीति गर्नु त हिजोभन्दा चुनौतीपूर्ण छ'युवाहरूमा सत्ता र शक्तिमा रहेका पुराना नेताहरूप्रतिको वितृष्णाका कारण राजनीतिज्ञहरू ट्रोलमा परिरहेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। कतिपय राजनीतिज्ञको लोकप्रियतामा प्रहार गर्न पनि प्रतिस्पर्धीले ट्रोलको सहारा लिने गरेको उनको बुझाइ छ।
"अहिले ट्रोल हुनुको कारण उनीहरूप्रति युवाहरूमा वितृष्णा र त्यस्तो बेला राजनीतिलाई सकारात्मक दिशा दिएर एउटा उज्यालो भविष्यको बाटोतिर लैजाने महत्त्वपूर्ण काम गरेदेखि यी कुराहरूबाट अगाडि बढिन्थ्यो," उनी भन्छन्।
नेताहरू बदलिँदो समय र युवाहरूको आकाङ्क्षा अनुरूप सान्दर्भिक हुन नसक्दा पनि युवाहरूबाट ट्रोल बनिरहेको उनको बुझाइ छ।
"अहिले शासन गर्नु, राजनीति गर्नु त हिजो भन्दा चुनौतीपूर्ण छ," प्रविधिको विकाससँगै नेताहरू असान्दर्भिक बन्दै गइरहेकोबारे पोखरेल भन्छन्।
"नेतृत्वको सान्दर्भिकता एकदमै ओरालो लागिरहेको छ। त्यो कुरा उनीहरू बुझ्न वा मान्न तयार छैनन्। "प्रधानमन्त्री केपी ओली चाहिँ कतिपय 'बोल्न नपर्ने' विषयमा विज्ञ भएर अभिव्यक्ति दिँदा पनि ट्रोलमा परिरहेको पोखरेलको बुझाइ छ।
"यी नेताहरूसँग दिने सकारात्मक कुरा केही छैन। तर बोल्नुपर्ने। केपी ओलीको त सबैभन्दा ठूलो समस्या नै जे मा पनि जान्ने हुनुपर्ने जे मा पनि बोल्ने। जसले अघि के बोलियो अहिले के बोलिँदैछ भन्ने कुराको तारतम्य नहुँदा आफैँ हाँसोको पात्र हुन्छन्," यसअघि बाघबारे बोल्दा पनि ओली ट्रोल भएको स्मरण गर्दै पोखरेल भन्छन्।
(बीबीसी)