काठमाडौं । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८)ले आधुनिक प्रविधियुक्त नयाँ कारोबार प्रणाली कारोबार प्रणाली ‘नासा एक्स’ सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठले आइतबार दरबारमार्गको लालकोलोनी मार्गस्थित नासा सेक्युरिटिजको केन्द्रीय कार्यालयमा सो कारोबार प्रणालीको शुभारम्भ गरेका हुन् ।
नयाँ प्रणालीबाट चार लाखभन्दा धेरै लगानीकर्ताले सहज, सरल र विश्वसनीयरुपमा सेयर कारोबार गर्न पाउने कम्पनीका प्रबन्ध सञ्चालक मदन पौडेलले जानकारी दिएका छन् । ‘यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरुलाई समेटेर प्रविधिको नवीनतम प्रयोग गरिएको छ’, उनले भने । वेबसाइटका अलवा मोबाइल प्लेटफर्ममार्फत लगानीकर्ताले कारोबारको पूर्ण जानकारी राख्न सक्नेछन् । यसमा प्रयोगकर्ताले सुविधाजनक रुपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेटजस्ता धेरै सुविधा पाउने पौडेलेले जानकारी दिए । रियलटाइम इन्फर्मेसन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकले आफैँ रकम झिक्न सक्ने विशेषता नयाँ टीएमएसमा रहेको नासाले जनाएको छ । त्यस्तै प्रतिक्रिया र समस्या रिपोर्टका लागि कारोबारीले च्याट बट प्रयोग गर्न सक्नेछन् ।
कम्पनीका अनुसार वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कुल राखिएको छ, यसकै आधारबाट सहजै नयाँ टीएमएस चलाउन सकिनेछ । नेपालमा पहिलो पटक इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ विशेषता भित्र्याउने काम अगाडि बढेको कम्पनीको दाबी छ । ‘प्रयोगकर्ताले चार्टबाट सिधै खरिद र बिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन्’ नासाले भनेको छ ‘यसले लगानीकर्ताहरुलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिद बिक्री आदेशका लागि पुनः टीएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिनेछ ।’