काठमाडौं । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन् ।
लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले लाखौँ नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसर प्रदान गर्ने यस क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताए । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेपालको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएकोभन्दै यस्ता उद्योगविना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताए । राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग पुर्याए यिनै उद्योगहरूले नेपाललाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्ने उनको भनाइ थियो ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोगी हुने यस्ता उद्योगहरूले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्नुका साथै साना उद्योगहरू गाउँगाउँमा खोल्न सकिने भएकाले क्षेत्रीय असमानता घटाउने उनले बताए । स्थानीय स्रोतसाधन र सीपको उपयोग गर्दै महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पु¥याउने यस्ता उद्योगमा ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुने उनको भनाइ छ । ‘नेपालजस्तो मुलुकमा ठूलो उद्योग सञ्चालनका लागि भौगोलिक, पुँजीगत र पूर्वाधारसम्बन्धी सीमितता छन् । यहाँ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन्’, उनले भने ।
सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाका बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिन उनले सरकारसँग माग गरे । महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरूलाई अर्थतन्त्रको इञ्जिन भने पनि व्यवहारमा देख्न नसकिएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, मुकेश उपाध्याय, राजेन्द्रमान श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, सत्यनारायण प्रजापति, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतले आफ्ना धाराणा राखेका थिए ।