काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट प्रकाशित हुने जनसवाल दैनिक नामक पत्रिकाका सम्पादकसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको छ ।
प्रकाशित नै नभएको सूचनालाई प्रकाशित भएको भनेर बिल पेश गर्ने जनसवाल दैनिकका सम्पादक रामजी बगाले र तराई पोष्ट दैनिकका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टकै प्रतिनिधि ओम प्रकाश यादव तथा बिल अनुसार भुक्तानी दिन आदेश दिने उक्त नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव र तत्कालीन सह–लेखापाल नविन कुमार यादवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भुक्तानीको लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेतको कार्य गरेको देखिंदा प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी नक्कली प्रति कार्यालयको अभिलेखमा राखी सो वापत कर कट्टी गरी एक लाख ७२ हजार आठ सय २५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र वोलपत्र स्वीकृत भएको आशयको सूचना तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएको भनी नक्कली पत्रिकाको एक प्रति कार्यालयको अभिलेखमा राखी सोवापत ३९ हजार चार सय भुक्तानी दिने/लिने काम गरेर नगरपालिकालाई हानी पुर्याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्नहरु भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दाय गरेको हो ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरुका लागि वितरण गर्न स्प्रे टंकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक रुपमा प्रकाशित नै नगरी नक्कली पत्रिका र बिल पेश गरी भुक्तानी लिएको आरोपमा अख्तियारले जनसवाल दैनिकका सम्पादक रामजी बगालेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त नगरपालिकाले २०७८ साल माघ १८ गते जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरी माघ २० मा विज्ञापन प्रकाशित गरेको भने पनि अनुसन्धानको क्रममा उक्त सूचना नै प्रकाशित भएको फेला परेको थिएन ।
त्यस्तै, सोही विज्ञापनको बोलपत्र स्वीकृत भएको आशयको सूचना तराई पोष्टमा २०७८ फागुन २७ मा प्रकाशित भएको भनिए पनि प्रेश काउन्सिल नेपालले उक्त सूचना पनि तराई पोष्टमा प्रकाशित नभएको जानकारी अख्तियारलाई दिएको थियो । सो विषयमा अख्तियारमा उजुरी परेपछि छानबिनको क्रममा ती दुई पत्रिका तानिएका हुन् ।
अख्तियारले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह–लेखापाल नविन कुमार यादवलाई जनही दुई लाख १२ हजार दुई सय २२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) वमोजिम कैद र विगो बमोजिम जरिवाना सजाय गरी विगो असूल उपर हुन एवं नगरपालिकाका चेकहरु केरमेट गरी सच्याई सच्याएको ठाउँमा दस्तखत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसूर गरेको हुँदा सोही ऐनको दफा ११ बमोजिम कैद र जरिवाना समेत हुन मागदावी लिइएको छ ।
जनसवाल पब्लिकेशन प्रा.लि.तथा उक्त कम्पनीका सम्पादक रामजी बगालेले एक लाख ७२ हजार आठ सय १५ रुपैयाँ भैष्टाचार गरेको भन्दै भेष्टाटाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिमको कसूरजन्य कार्यको नगद तथा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको ादफा २२ बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय गरी विगो असूल उपर हुन मागदाबी लिइएको छ ।
तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल ३९ हजार चार सय भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको नगद तथा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय गरी विगो असुल उपर हुन मागदावी लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई औषधी स्प्रे टंकी वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन परेपछि अनुसन्धान गर्दै जाँदा अख्तियारले उक्त तथ्य फेला पारेको हो ।
महानगरका इन्जिनियरविरुद्ध पनि मुद्दा
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दर्ता भएको छ । अख्तियारले सोमबार उक्त मुद्दा दर्ता गरेको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ (साबिक नकटाझिज–६) स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा अख्तियारले भ्रष्टाचार भएको ठहर गरी अदालतमा मुद्दा दर्ता गरेको हो ।
२०४६ वैशाख १९ गतेदेखि मिति २०७८ चैत ३० गतेसम्मको जाँच अवधिमा प्रतिवादी कोइरीले तीन करोड सैंतीस लाख उनासी हजार चार सय रुपैयाँ चौंतीस पैसा आय गरेको तर उसले सम्पत्ति एवं खर्च तथा लगानी सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपैयाँ तेइस पैसा देखिन आएबाट निज प्रतिवादी रामबाबु महतोको अनुसन्धान अवधिको कूल आयआर्जन तीन करोड सैंतीस लाख उनासी हजार चार सय रुपैयाँ चौंतीस पैसा मा निजले गरेको कूल खर्च तथा लगानी (व्यय) सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपैयाँ तेइस पैसा घटाउँदा हुन आउने चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ अठासी पैसाले कूल आयभन्दा कुल व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ अठासी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवाना हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन माग गरेको छ ।