काठमाडौ । राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले हालै एक कार्यक्रमका बीच आधिकारिक कार्यालयको उद्घाटन गरेको थियो ।
काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार र स्थानीयस्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको कम्पनीले जनाएको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानीय आवश्यकताअनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिने बताए । यसले चालकहरूलाई व्यावसायिकरूपमा बढ्न र उच्चतमस्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । साथै, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगतरूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । इनड्राइभ उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूतरूपमा मनपर्ने विकल्प बनेको छ ।
कम्पनीका अनुसार नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँस्तरमा पुग्दै गएको छ । इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले नेपाल कम्पनीको लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार रहेको बताइन् । कम्पनीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएको र उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतीहरूलाई ध्यानपूर्वक सुन्दै आएको बताइन् । आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरूको लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको उनको दाबी छ ।