काठमाडौं । सेयरबजारमा मंगलबार उत्साहजनक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १० अर्ब १६ करोड रुपैयाँ बराबरको दुई करोड ३६ लाख ९७ हजार एक सय ४५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ । नेप्से २५ दशमलव शून्य सात अंक बढेर दुई हजार छ सय ७८ दशमलव १७ विन्दुमा कायम भएको छ । कारोबारमा आएका दुई ४८ कम्पनीमध्ये एक सय ९६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । तर यसदिन ५२ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।
यसअघि लगातार चार कारोबार दिन घटेको बजार मंगलबार बढ्दा राहत पुगेको लगानीकर्ता बताउँछन् । अर्थतन्त्रका सबैजसो सूचकहरू सकारात्मक रहेको, नियामक निकायहरूले बजारलाई सहयोग पुग्नेगरी नीतिगत सुधार गर्दै लगेको भए पनि बजारले सकारात्मक गति लिन सकेको छैन । बरु उल्टै बजार घटिरहेको थियो ।
मंगलबारको वृद्धिले घट्दो क्रममा ब्रेक लागेको छ । अहिले व्याजदर न्यून छ, बैंकमा तरलता प्रशस्त छ, अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक छन् । यस्तो बेला बजारमा सकारात्मक प्रभाव पर्नुपर्ने हो । तर ठूला र संस्थागत लगानीकर्ताले थप लगानी गर्ने अवस्था नरहेकाले बजार अपेक्षितरूपमा बढ्न नसकेको विश्लेषकहरू बताउँछन् ।
मंगलबारको कारोबारमा सबै समूह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह पाँच दशमलव १२ प्रतिशतले बढेको हो । बैंकिङ शून्य दशमलव ९३, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव २८, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ६८ र जीवन बीमा एक दशमलव शून्य आठ प्रतिशतले बढेको हो । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा एक दशमलव २६, व्यापार एक दशमलव शून्य सात र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको छ ।
पियोर इनर्जी लिमिटेड र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य छ दशमलव १४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर ५८ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमै ४१ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि १४ अर्ब रुपैयाँ बढेर १५ खर्ब दुई अर्ब रुपैयाँ कायम भएको छ ।