काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख ठगी गरेको आरोपमा प्रहरीले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर छ लाख ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा पक्राउ परेको जानकारी दिए ।
प्रहरीले पक्राउ गरेकामध्ये ज्ञानबहादुर २०७० साल फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र २०६७ साल कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको खुल्नमा आएको जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताए ।