काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।
बुधबार बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
राससका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भएको हो ।
अवरोध हटाउन सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए । बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन । सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।