काठमाडौं ।भारतमा गुजरात राज्यको अहमदाबादमा एअर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको बताइएको छ। हमदाबादको अग्नि नियन्त्रण विभागले दुर्घटनास्थलमा दमकलहरू पठाइएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्। उक्त विमान यूकेको लन्डनस्थित ग्याटविक तर्फको यात्रामा रहेको बताइएको छ।विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ।सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा उक्त विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुनसक्ने र त्यहाँबाट कालो धुवाँ उडिरहेको देख्न सकिन्छ। गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले "युद्धस्तरमा तत्काल उद्धार तथा राहतको कार्य गर्न" निर्देशन दिइएको बताएका छन्। भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एअर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन्। उनका अनुसार विमानमा २३२ जना यात्रु र १२ जना चालकदलका सदस्य थिए।एअर इन्डियाले के भन्यो? एअर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, "अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।" दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने उसले बताएको छ। एअर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, "आज अहमदाबादबाट लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी म गहिरो दु:खका साथ दिन्छु।" उनले उक्त दर्दनाक घटनाबाट प्रभावित सबै परिवारजनतर्फ संवेदना जनाएका छन्। प्रभावितहरूलाई सहयोग गर्न आफ्नो प्रमुख ध्यान केन्द्रित भएको उनले बताए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार संस्था पीटिआईसँग बोल्दै भने, "विमानस्थलको नजिकै मेघाणीनगर इलाकामा एक विमान दुर्घटनाग्रस्त भएको छ। कस्तो विमान थियो भनेर अहिले स्पष्ट भइसकेको छैन।" अग्निनियन्त्रक अधिकारी जयेश खडियाले भने, "विमान दुर्घटनाग्रस्त भएपछि त्यसमा आगो लाग्यो। आगो निभाउन दमकल विभागले गाडीहरू पठाएको छ।" भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राम मोहन नायडुले उनी अहमदाबादमा भएको विमान दुर्घटनाबाट "स्तब्ध र अति दुःखित भएको" बताएका छन्। मन्त्री नायडुले भने,"हामी उच्च सतर्कताको अवस्थामा छौँ। मैले व्यक्तिगत रूपमा नै अवस्थाको निगरानी गरिरहेको छु र सबै उड्डयन तथा आपतकालीन प्रतिक्रिया निकायहरूलाई शीघ्र र संयोजित कार्वाही अघि बढाउन निर्देशन दिएको छु।" "उद्धार टोलीहरूलाई परिचालन गरिसकिएको छ र घटनास्थलमा उपचार सहयोग तथा उद्धारको व्यवस्था पठाइसकिएको छ। विमानमा रहेकाहरू र तिनका परिवारजनको निम्ति म प्रार्थना गर्दछु।" (बीबीसी)