काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका प्रिय तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीहरूले गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यमा कम रकम कबोल गर्ने कम्पनीलाई नदिई बढी रकम कबोल गर्नेलाई दिएर भ्रष्टाचार गरेको भन्दै विशेष अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेकाहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक प्रदीप परियार, बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक (अधिकृत दशौँ) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौँ) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौँ) वसन्त आचार्य, निर्देशक (अधिकृत दशौँ) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौँ) जनार्दन गिरी र खरिद इकाईका सहायक निर्देशक (अधिकृत सातौँ) उत्तम दाहाल छन् ।
अख्तियारका अनुसार उनीहरूको मिलेमतो र बदनियतले गर्दा उक्त ठेक्कामा सबैभन्दा कम अंक कबोल गर्ने निर्माण व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरीगराई दोस्रो कम कबोल अंक प्रस्ताव गर्ने निर्माण व्यवसायी कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गराएर महानगरपालिकालाई चार करोड ३१ लाख ७२ हजार दुई सय ७ रुपैयाँ ३२ पैसा घाटा पारेका छन् । उक्त ठेक्कामा समानान्तर सेवा प्रालिले १८ करोड नौ लाख २२ हजार तीन सय २५ रुपैयाँ ६३ पैसा र कल्पवृक्ष–कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार छ सय १२ रुपैयाँ ९५ पैसा प्रस्ताव गरेको थियो ।