विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा उदय परियोजनाले स्थानीय व्यावसायिक विकास परामर्शदाताहरूको क्षमता विकास तालिम विराटनगरमा सुरु गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बुधबारदेखि सुरु भएको उक्त तालिम तीन दिनसम्म सञ्चालन हुुनेछ । कार्यक्रममा कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशील रहेको भन्दै अध्यक्ष राउतले महासंघ कोशी र उदय परियोजनाबीच भएको सम्झौताबमोजिम नै तालिम सञ्चालन हुुने जानकारी दिए । उनले स्थानीय व्यावसायिक विकास परामर्शदातामार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पुँजीमा पहुँच बढाई, लगानी तथा नवप्रवर्तन अनुकूल व्यावसायिक वातावरण सिर्जना गर्नका लागि प्रदेशमा सक्रिय साना तथा मझौला उद्योग व्यवसायीलाई लक्षित तालिमको आयोजना गरेको बताए ।
यस्ता कार्यक्रमबाट जिल्ला/नगर उद्योग वाणिज्य संघको क्षमता विकास विस्तार, समन्वय, तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तारसँगै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी हुने उनको भनाइ छ । महासंघ कोशीले केही महिनाअघिबाट उपाय बिजिनेस सोलुसनसँगको सहकार्यमा यो परियोजना थालेको उनले जानकारी दिए । हाल कृषि क्षेत्रका करिब एक दर्जन कृषि उद्यमीहरूको व्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा महासंघले सहजीकरण गरिरहेको उनको भनाइ छ । व्यावसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला/नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरूमा सेवा प्रवाहले सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ ।
उदय परियोजनाका बीडीएस लिड विष्णु काफ्लेले साना तथा मझौला उद्यमीहरूको लागि व्यावसायिक विकास परामर्शदाताहरूको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।