काठमाडौं । कुपन्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ इ–स्पोट्र्स’ले जितेको छ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो । जुन २ बाट सुरु भएको उक्त प्रतिस्पर्धामा तीन सय २४ टिमबाट १६ सय २० खेलाडी सहभागी भएका थिए । छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए । अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा फोर डेथ मेसिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, बाघ इ–स्पोट्र्स, दाइ इ–स्पोट्र्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच इ–स्पोट्र्स र ह्वाइट डेविल्स रहेका थिए । यी टिमहरूले जुन ८ देखि १० सम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए ।
सोही खेलहरूमा बाघले एक सय ३२ अंक ल्याउँदै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै बाघले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छ । नेपाल गेमिङ (एनजी) ले एक सय २६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २० हजार रुपैयाँ जित्दा, बीएसीले एक सय २४ अंकका साथ तेस्रो स्थान हासिल गरी १० हजार रुपैयाँ प्राप्त ग¥यो । फ्यान फेभरेट टिम घोषित भएको बाघले थप छ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी, ‘विनर विनर चिकेन डिनर’ जित्ने टिमहरूलाई कुल नौ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेसिन्सका आदित्य घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
इ–स्पोट्र्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर सोडाउन २०२५’ कार्यक्रमको मोबिलिटी पार्टनर टुटल तथा डिजिटल पार्टनरको रूपमा डिजिपल सोल्युसन्स रहेको थियो ।