काठमाडौँ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिंदै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए । उनले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राखे।
शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए।