काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मधेश प्रदेशसभाका सदस्य (सांसद) सरोजकुमार सिंहलाई बिहीबार राजधानी काठमाडौंबाट पक्राउ गरेको छ । उनी जसपा नेपालका प्रदेशसभा सदस्य हुन् ।
पक्राउ परेका सिंह महोत्तरी जिल्ला क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सांसद सिंहका स्वकीयसचिव विनोदकुमार लाल कायस्थलाई अख्तियारले गत १२ गते पक्राउ गरेको थियो । स्वकीयसचिव पक्राउपछि गरिएको थप अनुसन्धानमा भ्रष्टाचारको विषयमा प्रदेशसभा सदस्य सिंहको संलग्ना देखिएपछि अख्तियारबाट खटिएको टोलीले बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरेर हिरासतमा राखेको छ ।
सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई ती उपभोक्ता समितिको खातामा दाखिला भएको रकम स्वकीयसचिव कायस्थलाई झिक्न लगाई उक्त रकम श्रीमतीको खातामा ल्याएको निष्कर्ष अख्तियारले निकालेको छ । स्वकीयसचिव कायस्थ धनुषाबाट पक्राउ परेका थिए । प्रदेशसभा सदस्य सिंह भने काठमाडौंबाट पक्राउ परेका हुन् । स्वकीय पक्राउ पर्दा प्रदेशसभा सदस्य सिंहको मोबाइलसहित विद्युतीय उपकरण पनि अख्तियारले नियन्त्रणमा लिएको थियो ।
प्रदेशसभा सदस्य सिंहले उपभोक्ता समितिबाट कमिसनस्वरूप बुझेको पैसा आफ्नी श्रीमती र स्वकीयको नाममा जम्मा गरेर सरकारी रकम दुरुपयोग गरी गराई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी छ ।
महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. ६ सरपल्लो स्थायी घर भई हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय प्रदेश सांसद सिंहलाई अख्तियारले बिहीबार साँझ छ बजेर तीन मिनेट जाँदा काठमाडौं महानगरपालिका वडा नं. १० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रदेशसभा सदस्य सिंहले योजना समावेश गर्ने बेलादेखि नै सेटिङ गर्ने गरेको स्रोतको दाबी छ । योजना समावेश भएपछि उपभोक्ता समिति गठन गर्ने र उपभोक्ता समितिको नेतृत्व चयन गर्ने बेलामै रकमको कबुल गर्न लगाएर जसले धेरै दिन्छ उसैलाई उपभोक्ता समिति अध्यक्ष बनाउँदै आएका थिए । प्रदेशसभाका सदस्यहरूले योजना बिक्री गर्ने गरेको आवास मधेश प्रदेशसभाको बैठकमा उठ्ने गरेको थियो ।