काठमाडौं । नेपालको सन्दर्भमा हेर्दा, पछिल्लो केही वर्षमा अत्यधिक गर्मी, असामान्य वर्षा, हिमपातको न्यूनता, पहिरो, बाढी, वन डढेलो र सुख्खाका घटनाहरूमा वृद्धि आएको छ । काठमाडौँ उपत्यकाजस्तो पहिले शीतल र हरियाली क्षेत्र समेत अहिले गर्मीको चरम असरमा परेको छ । पछिल्ला दिनहरूमा त काठमाडौँका विभिन्न ठाउँहरूमा बाहिर हिँड्नै नसकिने तापक्रम देखिएको छ भने तराईका केही जिल्लाहरूमा त विद्यालयहरू समेत बन्द गर्नुपरेको अवस्था आएको छ ।
सहरका सडकहरूमा हिँड्दा झन् कष्टकर हुने स्थिति छ । काठमाडौँको वरिपरिका पहाडहरूमा अझै हरियाली रहे पनि सहरभित्र हरियालीको ठूलो अभाव छ । पार्कहरू न्यून छन्, छायाँ दिने रूखहरू पातलिएका छन् । कामकाजी मानिसहरू, विद्यार्थीहरू, वृद्धवृद्धा र बालबालिकाहरूलाई त यस्तो गर्मीले शारीरिक तथा मानसिकरुपमा असर गरिरहेको छ । यो केवल मौसमको परिवर्तन मात्र होइन, वातावरणीय संकटको चेतावनी हो ।
हालको समयको सबैभन्दा गम्भीर र बहसको विषयमध्ये एक हो– जलवायु परिवर्तन । विश्वका साना होस् वा ठूला देशहरू, धनी होस् वा गरिब, सबै राष्ट्र यो समस्याबाट प्रभावित छन् । वातावरणमा भइरहेको अत्यधिक तापमान वृद्धिदेखि लिएर असमयमा हुने वर्षा, बाढी, सुख्खा, हिमपातको अभाव, समुद्री सतहको वृद्धि र जैविक विविधताको ह्राससम्मका यस्ता असरहरू हामीले दैनिक जीवनमा अनुभव गरिरहेका छौँ । यी असरहरूको मूल कारण मानवीय क्रियाकलाप र अव्यवस्थित विकास हो भने यसको समाधानका लागि सबै नागरिकले आ–आफ्नो जिम्मेवारीबोध गर्न आवश्यक छ । नेपालको सहरी क्षेत्रको अव्यवस्थित र हरित क्षेत्रको कमीले त झन् अत्यन्तै गम्भीर असर पारेको छ ।
जलवायु परिवर्तनको मुख्य कारण मानवीय गतिविधि नै हो । औद्योगिक क्रान्तिपछिको युगदेखि लिएर आजसम्म मानिसहरूले आधुनिकता र प्रविधिको नाममा पृथ्वीको सन्तुलन बिगार्दै आएका छन् । नेपाल पहिले सभ्य र शान्त थियो, हरेक ठाउँ सफा थिए, सहर पनि गाउँजस्तै थियो तर अहिले अत्यधिक कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासहरूको उत्सर्जन, वनजंगलको अन्धाधुन्ध विनाश, अत्यधिक प्लास्टिकको प्रयोग, नदी–नाला, जमिन र हावाको प्रदूषण, अन्धाधुन्ध सवारीसाधनको प्रयोगजस्ता तत्वहरू जलवायु परिवर्तनको प्रमुख कारक हुन् । काठमाडौँ सहरमा त झन् एउटा उपत्यका, त्यसमा पनि हरेक प्रदूषणले गर्दा आकाश सधैँ अँध्यारो देखिन्छ र निलो आकाश हेर्न समेत गाह्रो भएको छ ।
नेपालमा पनि तीव्र सहरीकरण र योजनाविहीन विकासका कारण वातावरणमा प्रतिकूल असर परेको छ । तराईका ग्रामीण सडकहरू धुलोले भरिएका छन्, नदीनालाहरूमा ढल मिसाइएको छ, माटोमा अत्यधिक विषादी प्रयोग गरिएको छ, जंगलहरूमा हरेक वर्ष डढेलो लाग्ने क्रम बढ्दो छ । यी सबै क्रियाकलापबाट वातावरण नकारात्मकरूपमा प्रभावित भइरहेको छ ।
यस्तो गम्भीर परिस्थिति समाधान गर्न सरकार तथा अन्तर्राष्ट्रिय संस्था मात्रले पुग्दैन । कागजीरूपमा त यहाँ अत्यन्तै काम भएको देखिन्छ, तर वास्तविकता फरक छ, त्यसैले प्रत्येक नागरिकले पनि आफूबाट सुरूवात गर्नुपर्ने समय आएको छ । जनस्तरबाट हुने साना–साना सकारात्मक अभ्यासहरूले नै दीर्घकालीन परिवर्तन सम्भव हुन्छ । त्यसैले सचेतना र शिक्षाको आवश्यकता हुनु जरुरी छ । प्रत्येक नागरिकलाई जलवायु परिवर्तनबारे सुसूचित गरिनु आवश्यक छ । विद्यालयदेखि विश्वविद्यालयसम्म वातावरणीय शिक्षा अनिवार्य गरिनुपर्छ । आम सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सामुदायिक कार्यक्रमहरूद्वारा जनचेतना फैलाउनु आवश्यक छ । ध्वनि, वायु, जल र भूमि प्रदूषणलाई न्यूनीकरण गर्न जरुरी छ ।
हामीले जथाभावी होइन, वैज्ञानिक र योजनाअनुसार वृक्षरोपण गर्नुपर्छ । ठाउँको प्रकृतिअनुसार हावापानी सुहाउने, अक्सिजन बढी दिने, पानी सोस्ने, छाया दिने, र जैविक विविधता कायम राख्न मद्दत गर्ने बिरुवाहरू रोप्नुपर्छ । आजकल धेरैजसो वृक्षरोपण फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने उद्देश्यले हुने गरेको पाइन्छ । तर वृक्षरोपणपछि त्यसको संरक्षण नभएसम्म त्यो निरर्थक हुन्छ । सामाजिक उत्तरदायित्वअन्तर्गत राज्यले पनि ठाउँको व्यवस्थापन गराउन सकेमा र निगरानी राखी वृक्षरोपण गर्न सकेमा तथा डढेलो लाग्न नदिने वातावरण बनाउन सकेमा हरित ठाउँ बनाउन सकिन्छ ।
हामीले हाम्रो जीवनशैलीलाई प्रकृतिमैत्री बनाउनु आवश्यक छ । मोटरसाइकलको सट्टा साइकल चलाउने, प्लास्टिकको प्रयोग घटाउने, बजार जाँदा झोला बोकेर जाने बानी गर्ने, पुनः प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्ने, सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने, अनावश्यक बिजुली र पानी नफाल्नेजस्ता अभ्यासहरू आवश्यक छन् । हाम्रो टोल, गाउँ, नगरपालिका वा सहरमा स्थानीय समुदायको नेतृत्वमा वातावरण संरक्षण सम्बन्धी अभियानहरू सञ्चालन गर्नेजस्ता कामले पनि नागरिकमा सकारात्मक सोच ल्याउँछ । साथै नयाँ–नयाँ नारा लिएर कार्यक्रम ल्याउने हाम्रो टोल, राम्रो टोल, हाम्रो गाउँ, हरियो गाउँ, हाम्रो बस्ती प्रदूषणमुक्त बस्ती, हाम्रो ठाउँ हल्लाबिहीन ठाउँ आदि । साथै जनतालाई अनावश्यक ठाउँमा सवारीसाधन ननिकाल्न प्रोत्साहन नगर्ने, हप्तामा एक दिन साइकल प्रयोग गर्न प्रोत्साहन गर्ने, युरोपको राष्ट्रपतिले त साइकल चढ्छन् भने हामी नागरिकले साइकल चढ्नु हुँदैन र ? त्यसको साथै वातावरणमैत्री बजार बसाल्ने, प्लास्टिकमुक्त क्षेत्र बनाउनेजस्ता अभियानले वातावरण सुधार्न धेरै मद्दत गर्छ । यस्ता साना प्रयासहरूले स्थानीय स्तरमै ठूलो प्रभाव पार्न सक्छ । नीति बनाउनेदेखि दीर्घकालीन योजना बनाउनु आजको आवश्यकता हो । त्यसैले हामीले पनि वातावरण संरक्षणका पक्षमा नीति बनाउन र कार्यान्वयन गर्न सरकारमाथि निरन्तर दबाब सिर्जना गर्नुपर्छ । यसका लागि अभियानहरू, बहसहरू, निवेदनहरू तथा सहभागी संवादहरू आवश्यक छन् ।
हामी हाम्रा सन्ततिलाई माया गर्छौँ, तर वातावरण बिगा¥यौँ भने कस्तो माया दिदैछौँ भन्ने गम्भीर प्रश्नको रूपमा खडा हुनु जरुरी छ । त्यसैले यदि हामी आज नै सचेत भएनौँ भने यसको असर हाम्रो पुस्तासँगै आगामी पुस्ताहरूले समेत भोग्नुपर्नेछ । जलवायु परिवर्तनले कृषि प्रणालीमा असर पार्छ, पानीको स्रोतहरू सुक्छन्, गर्मीले जीवजन्तुहरूको जीवनचक्र बिगार्दछ, मानव स्वास्थ्यमा नकारात्मक असर पार्दछ, गरिबी, भोकमरी र विस्थापन निम्त्याउँछ ।
नेपालजस्तो हिमाल, पहाड र तराईले भरिएको विविध भौगोलिक देशमा जलवायु परिवर्तनले अझ ठूलो संकट निम्त्याउनेछ । हिमाली क्षेत्रको हिउँ पग्लिएर जलस्रोतहरू सुक्ने, पहाडी क्षेत्रमा पहिरो र बाढीले विनाश ल्याउने, तराई क्षेत्रमा अत्यधिक गर्मी र बाढीको चपेटा आउनेछ । गत साल बाढीको चपेटाले बीपी राजमार्गको हालतदेखि ठूला–ठूला पहिरो गएका कारणले वातावरण जोगाउनु किन पर्छ भन्ने कुराको यो प्रमाण हो । हिमाल सफा राखौँ, पहाड सफा राखौँ र तराई सफा राखौँ ।
हामीले समस्या पहिचान मात्र होइन, समाधानको मार्ग पनि प्रस्तुत गर्नुपर्छ । यसका लागि हरित प्रविधिको विकास र प्रयोग बढाइनुपर्छ । अब वर्षा ऋतु आइरहेको छ, आज असार १ गते भयो, अब वृक्षरोपण गर्न सुरू गरौँ । टोल टोल, गाउँ गाउँ र सहर सबै ठाउँ पहिचान गरी हरियाली बनाऔ । नवीकरणीय ऊर्जामा लगानी बढाऔँ जस्तैः हावा शक्ति, सौर्य शक्ति र बिजुली शक्ति । राज्यले वातावरण जोगाउन कडा कानुन बनाओस्, नगरपालिकाहरूले पनि सबै ठाउँमा हरियाली बनाउने प्रयास गरौँ । सहरी योजनामै वातावरण राम्रो हुने खालको बनाओस्, खुला क्षेत्र, पार्क, हरियालीको सुनिश्चितता गरियोस्, ठूला बिल्डिङको माथि पनि हरित गृह होउन् । खाली जग्गामा खेती गर्ने, बाँझो नछोड्ने होस् । साथै जलस्रोत, वन क्षेत्र, कृषि क्षेत्र र जैविक विविधता जोगाउन दीर्घकालीन योजना बनोस् । जथाभावी घर नबनोस् । हरियाली कायम अनिवार्य होस् । प्रत्येक घरमा रूख बिरुवा हुनु जरुरी होस् । यसलाई नियमकै रूपमा कायम गरियोस् ।
त्यसैले, जलवायु परिवर्तन कुनै टाढाको समस्या होइन, यो आजको हाम्रो वास्तविकता हो । हामी हरेक दिन यसको प्रभाव भोगिरहेका छौँ । अब समय आएको छ, हामी नागरिकहरूले आफ्नो जिम्मेवारी बुझेको देखाउने । हाम्रो सानो प्रयासले पृथ्वीलाई जोगाउन ठूलो भूमिका खेल्न सक्छ । घरदेखि कार्यालय, विद्यालयदेखि सडक, गाउँदेखि सहरसम्म सबै ठाउँमा वातावरणप्रति हाम्रो व्यवहार परिवर्तन आवश्यक छ । यो पृथ्वी हाम्रो हो, त्यसैले सबैतिर राम्रो होस् ।
हामी सबै प्रकृतिका सन्तान हौँ, सन्तानले आमाको रक्षा गर्नु पर्छ । प्रकृतिको रक्षा गर्नु भनेको आफ्नै जीवन र भविष्यको रक्षा गर्नु हो– आमाको रक्षा गर्नु हो । जलवायु परिवर्तनविरुद्धको लडाइँ हामी सबैको साझा लडाइँ हो र यसको समाधानको जिम्मेवारी पनि हरेक नागरिकको काँधमा समानरूपमा पर्छ । त्यसैले, वन विनाश रोकौँ, हरेक मानिसले रूख रोपौँ, हरेक ठाउँलाई सफा राखौँ, माटोलाई विषादीरहित बनाऔँ, वायु प्रदूषण रोकौँ, ध्वनि प्रदूषण रोकौँ, अनि सोचौँ– म पृथ्वीको सन्तान हुँ, ममा पनि उत्तिकै जिम्मेवारी छ र मैले गरेका सबै राम्रा काम म आफैँ, मेरो भूमि र आउने सन्ततिका लागि गर्दैछु । अनि मसँगै हाम्रो भविष्यका लागि गर्दैछु ।
आऊँ, सबै मिलेर हातेमालो गरी प्रकृतिको संरक्षण गरी ऊर्जावान् बनाऔँ । आउने सन्ततिलाई राम्रो संसार बनाई हस्तान्तरण गरी जलवायु परिवर्तनको असरको चपेटामा नपारौँ ।