अहमदाबाद । भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जान उडेको एक विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार थिए । जसमस्ये एक सय ४१ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा एक जना यात्रु भने बाँचेका छन् । विमानको सिट नम्बर ११–ए मा बसेका भारतीय मुलका बेलायती नागरिक रमेश विश्वास कुमारलाई उद्दार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयमै दुर्घटना भएको थियो । विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छ । भारतको नागरिक उड्डयन प्राधिकरणले जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार रहेको जनाएको छ । विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार थिए ।
विमानस्थलको परिधिभन्दा बाहिर पुगेर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।
दुर्घटना भएलगत्तै उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिएका थिए ।