काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फरक दिनमा बैंकिङ कसुर मुद्दाका दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गणेशप्रशाद शर्मा र हिरण्यकुमार मगर रहेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीबाट सोही ठाउँ बस्ने बाँके नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादो घर भएका ४७ वर्षीय शर्मालाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला अदालत झापाबाट गत वैशाख २८ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई पक्राउपश्चात् आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरी परिसर काठमाडौंले पनि डेढ करोड रुपैयाँबराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी मगरलाई पक्राउ गरेको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई ललितपुर बस्दै आएका ४१ वर्षीय मगर रहेको परिसरले जानकारी दिएको छ ।