रुकुमपश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा शुक्रबार बिहान मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–४ को सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३ नम्बरको मिनिट्रकमा ठोक्किएको हो ।
त्रि सिद्धेश्वरी राप्ती यातायात समितिका रुकुम इन्चार्ज टेकबहादुर बिकले मोटरसाइकलमा सवार दुईजना रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ निवासी टीकाराम केसी र भीमप्रकाश डाँगी दुर्घटनामा परेर घाइते भएको जानकारी दिए ।
प्रहरी चौकी सोलाबाङका इन्चार्ज गणेश बिक र स्थानीयलगायतका टोलीले उद्धार गरेर घाइतेहरूलाई जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । जिल्ला अस्पतालमा दुवैजना घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ भने ट्रक चालक सल्यानका निर्मल बिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।