काठमाडौँ । राष्ट्रियसभाका सदस्य गङ्गाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रुपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन् ।
“नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ”, सदस्य बेलबासेले भने, “अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोडदिने, निमुखालाई कानुन लगाउने काम गर्नुहुँदैन, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तरराष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ ।”
प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रियसभा निरन्तर रुपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको राससलाई बताइन् ।
सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधिसभा अवरुद्ध भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो ।
“भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो”, उनले भनिन, “ट्राभल ऐजेन्सीहरु, मेनपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मुुच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरी छानबिन समिति गठन जरुरी छ ।”
नेपालमा कानुनी राज्य भएको कुरा अन्तरराष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उहाँको भनाइ थिया ।