काठमाडौं । वाणिज्य बैंकहरूको नाफा खुम्चिएको छ । आर्थिक गतिविधि सुस्त भई कर्जा प्रवाह वृद्धिदर न्यून भएपछि बैंकहरूको नाफा प्रभावित भएको देखिन्छ । चालू आर्थिक वर्षको १० महिनामा २० वटा वाणिज्य बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ४८ खर्ब ६० अर्ब रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा १० बैंकले नाफा बढाएका छन् भने १० बैंकको नाफा खुम्चिएको छ । नेपाल बैंकको नाफा सबैभन्दा धेरै चार सय ५७ दशमलव १२ प्रतिशत बढेको छ । एनआईसी एसियाको नाफा सबैभन्दा धेरै ७७ दशमलव ८७ प्रतिशत खुम्चिएको छ । नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएकोे छ । नबिलले पाँच अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेमध्ये दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमई बैंकले पाँच अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पाँच अर्ब दुई करोड रुपैयाँ कमाएको छ ।
कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाउँदा हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ कमाएको छ । एनआईसी एसिया बैंकले सबैभन्दा कम ४७ करोड ८७ लाख रुपैयाँ कमाएको छ । नेपाल बैंकले तीन अर्ब २८ करोड रुपैयाँ कमाएको छ । यस्तै, एभरेस्ट बैंकले तीन अर्ब ९० करोड कमाएको छ । एनएमबी बैंकले दुई अर्ब ६२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ३१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले दुई अर्ब १५ करोड रुपैयाँ, सानिमा बैंकले एक अर्ब ८७ करोड रुपैयाँ र सिद्धार्थ बैंकले दुई अर्ब एक करोड रुपैयाँ कमाएका छन् ।
नेपाल एसबीआई बैंकले एक अर्ब ३८ करोड रुपैयाँ, स्ट्यान्र्डड चार्टर्ड बैंकले दुई अर्ब ३४ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले दुई अर्ब ५८ करोड रुपैयाँ र प्रभु बैंकले दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । यस्तै, सिटिजन्स बैंकले एक अर्ब ८१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७७ करोड रुपैयाँ, कृषि विकास बैंकले एक अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका छन् ।
केन्द्रीय बैंकले असल कर्जाको कर्जा नोक्सनी व्यवस्थालाई घटाएर एक प्रतिशतमा झारेको छ । तर पनि बैंकहरूको नाफा प्रभावित भएको छ । खासगरी बैंकहरूको व्याज खर्च बढेको र खराब कर्जा व्यवस्थाका लागि बढी पैसा छुट्याउनुपर्दा नाफा प्रभावित भएको बैंकर बताउँछन् । पछिल्लो समय बैंकहरूको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह न्यून छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले संकलन गरेको निक्षेप ६२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । तर कर्जा प्रवाह ४९ खर्ब ४० अर्ब रुपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अनुपात ७८ दशमलव ४५ प्रतिशत छ । जबकि ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । आर्थिक गतिविधि न्यून हुँदा कर्जाको माग न्यून रहेको बैंकर बताउँछन् । यी सबै कारण बैंकहरूको नाफा प्रभावित भएकोे देखिन्छ ।