काठमाडौं । अन्ततः हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक बाहिरिने भएको छ । सेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सबै संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएको हो ।
हिमालयन बैंकले यही जेठ ३० गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हबिब बैंकको सेयर खरिदको लागि आह्वान गरेको छ । शुक्रबार सार्वजनिक भएको सूचनाअनुसार सोही दिनको मितिले ३५ दिनभित्र सेयर खरिदको लागि आवेदन दिनुपर्नेछ । हबिबसँग रहेको दुई करोड ८० लाख १२ हजार चार सय ४७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।
स्रोतका अनुसार हिमालयन रि–इन्स्योरेन्सले उक्त सेयर खरिद गर्ने गरी सहमति भइसकेको छ । औपचारिक प्रक्रिया पूरा गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरिएको हो । सूचनाअनुसार सेयर खरिदको लागि न्यूनतम प्रतिकित्ता मूल्य एक सय १२ रुपैयाँ ८० पैसा तोकिएको छ । हबिबले हिमालयन बैंकमा रहेको आफ्नो साढे तीन अर्ब रुपैयाँभन्दा बढीको संस्थापक सेयर बिक्री गर्न लागेको हो । पाकिस्तानको हबिब बैंकले २०७६ सालमा हिमालयन बैंकको सेयर बेचेर बाहिरिन खोजेको थियो । तर राष्ट्र बैंकले स्वीकृति नदिँदा सेयर बिक्री प्रक्रिया रोकिएको थियो । तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालभरी नै रोकेर राखेको हबिब बैंकको सेयर अन्तिम कार्यकालको अन्तिम समयमा आएर बिक्री गर्न अनुमति दिएका थिए । आफ्नो कार्यकालभर रोकेर राखेको सेयर बिक्री गर्न अनुमति दिनुको पछाडि पनि धेरै कारणहरू रहेका थिए ।
हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरको लागि २०७८ वैशाख ३० गते प्रारम्भिक सम्झौता भएको थियो । तत्कालीन समयमा भएको मर्जरको उक्त सम्झौतामा कर्मचारी सञ्चय कोषका तर्फबाट पूर्वप्रशासक तथा हिमालयन बैंकका पूर्वअध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका थिए । हस्ताक्षरसँगै मर्जरपश्चात् बन्ने एकीकृत बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक रहने विषयमा पनि दुवै पक्षले सहमति जनाएका थिए । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच हुने मर्जर सम्झौता राष्ट्र बैंकको लागि पनि विशेष थियो । तत्कालीन समयमा बिग मर्जरको कुरा चर्कोरूपमा उठेको अवस्थामा यी दुई बैंकको मर्जर भएको खण्डमा राष्ट्र बैंकको समेत ठूलो सफलता मानिने अवस्था थियो । अर्कोेतर्फ हिमालयन बैंकको व्यवस्थापन प्रमुख र नेपाल इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिबीच पारिवारिक सम्बन्ध रहेको थियो अर्थात् हिमालयनमा प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नातेदार रहेका थिए । यही कारण पनि यी दुई बैंकको मर्जर सफल हुनेमा नेपाल राष्ट्र बैंक अझ भनौँ गभर्नर महाप्रसाद अधिकारी ढुक्क थिए ।
हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर प्रकया सुरु भएको समयमा अर्थमन्त्री जनार्दन शर्मा थिए । राजनीतिक आस्थाकै आधारमा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच त्यति राम्रो सम्वन्ध कायम हुन सकेन । तत्कालीन समयमा अर्थमन्त्री शर्मा हिमालयन बैंक कै केही सञ्चालकको उक्साहटमा जसरी पनि यि दुई बैंकबीचको मर्जर प्रकृया रोक्न चाहान्थे । यही बीचमा गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचका केही कार्यगत असहमतिहरू सतहमा देखिए । अर्थमन्त्री शर्माकै निर्देशनमा कर्मचारी सञ्चयकोषको प्रतिनिधिको रूपमा जितेन्द्र धिताल हिमालयन बैंकको सञ्चालक बने । यही बीचमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई निलम्बन गरे । निलम्बनपछि केही समयको अदालती प्रक्रियापछि अधिकारी गभर्नरकै पदमा पुनः राष्ट्र बैंकका फर्किए । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच हुने भनेको मर्जरको पक्ष र विपक्षमा मत बाझियो । धितालले मर्जरको विषयमा फरक मत राखेसँगै मर्जर भाँडियो । त्यसपछि नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैंकलाई गाभेर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बनायो भने हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर हिमालयन बैंककै नाममा एकीकृत कारोबार सुरु गर्यो ।
राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिमालयन बैंककै केही सञ्चालकहरूको उक्साहटको आधारमा हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सहमति भइसकेको मर्जर प्रक्रिया टुटेको थियो । यो मर्जर टुटाउनुमा हिमालयन बैंककै कमजोरी रहेको भन्दै त्यतिबेलादेखि नै गभर्नर अधिकारी हिमालयन बैंकसँग रुष्ट बनेका थिए । मर्जरपश्चात् हिमालयन बैंकले आफ्नो बैंकमा कायम रहेको पाकिस्तानको हबिब बैंकको सेयर एउटा बेलायती कम्पनीलाई बेच्ने प्रयास गरेको थियो । तर त्यो प्रयास सफल हुन नसकेपछि हबिब बैंककै आग्रहमा नेपालको तर्फबाट गोल्छा समूहका प्रमुख शेखर गोल्छा, विशाल ग्रुपका शाहिल अग्रवाल र दीपक भट्टको प्रमुख लगानी रहेको कम्पनी हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई सेयर बेच्ने प्रक्रिया सुरु भएको थियो ।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत संस्थापक सेयर लगानी रहेको थियो । सिभिल बैंकलाई गाभेपछि भने चुक्ता पुँजी बढेको आधारमा हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर ११ प्रतिशतमा खुम्चिएको थियो । यही ११ प्रतिशत संस्थापक सेयर बेच्नको लागि हिमालयन बैंकले हिमालयन रि–इन्स्योरेन्सलाई अगाडि सारेको थियो । तत्कालीन समयमा उक्त सेयर बेच्नका लागि हिमालयन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पटक–पटक गभर्नर अधिकारीलाई भेटेका थिए ।
भेटका क्रममा अध्यक्ष श्रेष्ठले हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई बेचाउने योजना सुनाएका थिए । हिमालयन बैंकमा पाकिस्तानी सेयर कायम रहँदा आफूले भारतसँग सजिलै कुनै पनि कारोबार गर्न नपाएको गुनासो त्यतिबेला उनले गरेका थिए । अध्यक्ष श्रेष्ठले राम्रोसँग आफ्नो कुरा राख्न नपाउँदै नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलसँगै रहेका गभर्नर अधिकारीले तपाईं पाकिस्तानी सेयर बेचाउन आउनुभएको हो कि पाकिस्तानी सेयर आफन्तलाई दिलाउन आउनुभएको हो भनि प्रश्न गरेका थिए । गभर्नर अधिकारीले संस्थापक समूहको सेयर फिट एन्ड टेस्ट नगरी यसरी कसैलाई सोझै बेच्न सकिँदैन भन्ने तपाईलाई थाहा छैन भनेर हपारेका थिए ।
गभर्नर अधिकारीले तपाई बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को तर्फबाट आएको हो की हिमालयन बैंकको तर्फबाट भनेर थप प्रश्न समेत गरेका थिए । उक्त घटनापश्चात् सोही विषयमा गभर्नर अधिकारीसँग छलफल गर्न हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सुलभ अग्रवाल राष्ट्र बैंक पुगेका थिए । उनले हिमालयन बैंकमा रहेको पाकिस्तानी सेयर किन्न बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठले प्रस्ताव गरेको र आधा–आधा लगानीमा दिन खोजेको प्रस्ताव सुनाएका थिए । उक्त घटनापछि गभर्नर अधिकारीले विभिन्न घटनाक्रमहरू देखाउँदै तत्कालका लागि हबिब बैंकको नाममा कायम रहेको सेयर बिक्री गर्ने प्रक्रिया रोक्का गर्न निर्देशन दिएका थिए ।
गभर्नर अधिकारीको सोही निर्देशनका कारण हिमालयन बैंकमा हालको अवस्थामा कायम रहेको पाकिस्तानको हबिब बैंकको ११ प्रतिशत संस्थापक सेयरको बिक्री रोकिएको थियो । तर गभर्नर अधिकारीको कार्यकाल सकिन लाग्दा सेयर बिक्री प्रक्रिया युटर्न भएको थियो अर्थात् गभर्नर अधिकारीले सेयर बिक्री गर्नको लागि अनुमति दिएका थिए । विसं २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएका गभर्नर अधिकारी पाँच वर्षे कार्यकाल सकेर २०८१ चैत्र २४ गते घर जाँदै गर्दा उनले आफूले सुरुवाती समयदेखि नै होल्ड गरेर राखेको हिमालयन बैंकलाई आफ्नो बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको ११ प्रतिशत सेयर हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न अनुमति दिएका थिए ।
हिमालयन बैंकको संस्थापक सेयरको कारोबार एक सय ३३ रुपैयाँ हाहारीमा हुने गरेको छ भने सिभिल बैंकलाई गाभेपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार छ सय ३० रुपैयाँ पुगेको छ । हिमालयन रिले हालको अवस्थामा झण्डै साढे तीन अर्ब रुपैयाँ खर्च गरेर हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न लागेको छ ।