काठमाडौं । लाखौँ ग्राहकहरूमाझ गतिशील बैंकिङको अभ्यास गरिरहेको एनआईसी एसिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्नसक्ने बैंकले जानकारी दिएको छ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपछि निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालितरुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यसउपरान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बेहोरा समेत बैंक सम्पूर्ण ग्राहकहरूमा जानकारी गराउँदछ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।