पथरी (मोरङ) । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी बेलबारी नगरपालिका–४ प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।
पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित शनिबार साँझ ८ः०० बजे घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।
यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।