काठमाडौँ । गत बिहीबार बिहान इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गरेर आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध सुरु भएको छ । बिहीबारयता तीन दिनमा इजरायली आक्रमणका कारण इरानमा एक सय ३८ जनाको मृत्यु भएको छ । जसमध्ये नौ जना आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमान्डरहरू छन् । इरानमा तीन सय ५० भन्दा बढी मानिस घाइते भएका छन ।
इरानले जवाफी कारबाहीस्वरूप इजरायलका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । तीन दिनमा इरानले इजरायलमा एक सय ५० भन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आक्रमणमा परी इजरायलमा १४ जनाको ज्यान गएको छ भने दुई सय ८० जना घाइते भएका छन् ।
इरान र इजरायलले शनिबार राति पटकपटक एकअर्कामाथि धेरै क्षेप्यास्त्र प्रहार गरेका छन् । इजरायली रक्षा बल (आईडीएफ)ले इरानमा रहेका सैन्य हतियार कारखानाहरू र वरपर बस्ने मानिसहरूलाई तत्कालै त्यस क्षेत्र छाड्न चेतावनी दिएको छ । इरानले पनि जवाफ राम्रैसँग दिने चेतावनी दिइरहेको छ ।
इरानले आफूमाथि आक्रमण गर्न सक्ने भन्दै इरायलले बिहीबारदेखि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । इजरायल सरकारले आपतकालीन कामबाहेक कसैलाई पनि बाहिर ननिस्किन एड्भाइजरी जारी गरेको छ । आक्रमणको क्रममा इजरायल र इरानबीच दोहोरो मिसाइल र ड्रोन हानाहान भएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै इजरायलले सम्पूर्ण हवाईअड्डाहरू बन्द गरेको छ भने सीमा समेत बन्द गरेको छ । यही कारण इजरायलमा रहेका विदेशी नागरिकहरू आफ्नो देश फर्किन सकिरहेका छैनन् । इजरायलमा रहेका नेपालीहरू पनि यही समस्यामा छन् ।
तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । दूतावासले आइतबार सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमा रहन आग्रह गरेको छ ।
‘आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्किन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,’ दूतावासले भनेको छ । त्यहाँ शैक्षिक संघसंस्थासहित अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने र सभा/भेला नगर्न समेत निर्देशन जारी गरिएको छ । दूतावासले स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न पनि आग्रह गरेको छ ।
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकोे छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यस्तो निर्देशन दिएकी हुन् ।
मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरूपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी हुन् ।
हाल इजरायलमा करिब पाँच हजार पाँच सय र इरानमा करिब १२ जना नेपालीहरू रहेको र उनीहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।
इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ९७२५३५३६०७४८ र तृतीय सचिव सञ्जयकुमार शाहलाई ९७२५४५५८२०७७ मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमितरूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
इजरायलमा काममै ब्यस्त छन् नेपाली
टेलिफोन सम्पर्कमा आएका इजरायलस्थित सहरमा रहेका नेपालीहरू भने सुरक्षित रहेको र काम गरिहेको बताएका छन् । उक्त स्थानमा रहेका ३५ वर्षीय अमृत केसीले आर्थिक दैनिकसँग कुराकानी गर्दै आफूहरू कृषि फार्ममा काम गरिरहेको बताए । नेपाली समयअनुसार आइतबार बेलुका ७ बजे भएको कुराकानीमा उनले आफूहरू कृषि फार्ममा काम गरिरहेको र सुरक्षित रहेको बताए । ‘यहाँ सुरक्षा साइरन भने समय समयमा बजेको छ, उक्त आवाज आएपछि सुरक्षित स्थानमा जानुपर्ने हुन्छ,’ केसीले भने, ‘आकाशमा ज्यादै कम हतियारहरू आएको देखिन्छ, हामीहरू सुरक्षित रहेका छौँ सबै साथीहरू काम गरेर बसेका छौँ ।’
उनले सहरमा मानिसहरू सामान्यतवरमा हिँडडुल गरेको र काम गरेको समेत बताए । ‘अहिले दिउँसोको करिब ४ बजेको छ मानिसहरू वरपर देख्न सक्छौँ । हामी नेपालीहरू भने काम गरिरहेका छौँ,’ केसीले भने, ‘हालसम्म त्यस्तो असुरक्षित महसुस गरेका छैनौँ, सचेत भने रहेका छौँ, स्थितिको बारेमा जानकारी भने राखेको छौँ ।’
तेलअभिभमा त्रास
तेलअभिभमा रहेका नेपालीहरू भने द्वन्द्वका कारण आत्तिएको र उद्धारका लागि आग्रह गरेका छन् । इजरायलको एक अस्पतालमा काम गर्दै आएकी नेपाली चिकित्सकले आइतबार तेल अभिभस्थित नेपाली दूतावासलाई इमेल पठाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।
‘इजरायल र इरानबीचको सैन्य शत्रुता बढेका कारणले इजरायलको सुरक्षा अवस्था तीव्ररूपमा बिग्रिएको छ । हवाई आक्रमण र प्रतिआक्रमणपछि विमानस्थल र हवाई उडान बन्द भएसँगै सुरक्षित यात्रा र निकासीको सम्भावना गम्भीररूपमा सीमित गरेको छ,’ ती चिकित्सकले नेपाली दूतावासलाई लेखेको इमेलमा उल्लेख छ ।