काठमाडौ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्नावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक भएको सरोकारवालाहरूले बताएका छन् । चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । बजेटले परिकल्पना गरेको सुरुङ मार्गको सम्भाव्यतामाथि छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा दोलखाका राजनीतिक पार्टीका नेतृत्व र प्रतिनिधिहरूले दोलखाको आर्थिक, धार्मिक र पर्यटकीय विकासका लागि दोलालघाट–चर्नावती सुरुङ मार्ग ‘गेम चेञ्जर प्रोजेक्ट’ हुने बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग दुई ठूला र शक्तिशाली देश भारत र चीनसँगको कनेक्टिभिटी सिर्जना गर्न दोलालघाट–चर्नावती सुरुङ मार्ग कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । ‘मन्त्रालयले भौतिक पूर्वाधार विकासको सन्दर्भमा छुट्टै तीनवटा दृष्टिकोण बनाएको छ,’ मन्त्री दाहालले भने, ‘घनाबस्ती भएको ठाउँ, बस्ती नभए पनि उत्पादन हुने ठाउँ र कनेक्टिभिटीलाई हेरेर विकासको काम अगाडि बढाउने योजना बनाएका छौँ । त्यसमध्ये कनेक्टिभिटीलाई हेरेर सिन्धुपाल्चोकको दोलालघाटदेखि दोलखाको चर्नावतीसम्म सुरुङ मार्गको परिकल्पना गरेका हौँ ।’
उनले यो परियोजना काठमाडौंलाई चीनसँग जोड्न र चीनसँगको सम्बन्धमा कोशेढुङ्गा सावित गर्न महत्वपूर्ण हुने बताए । ‘दोलालघाट नभई भक्तपुरमै प्रवेशविन्दु बनाउन पनि सकिनेछ । अध्ययन र निर्माण मोडालिटीले यसको अवस्थाबारे थप सुनिश्चितता गर्नेछ,’ उनले भने । सुरुङको प्रारम्भिक कामका लागि अहिले विनियोजन गरिएको ४५ लाख रुपैयाँ अपुग रहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार जुनसुकैबेला जति पनि बजेट व्यवस्था गर्न तयार रहेको बताए । दातृ निकायको सहयोग र सहुलियत वैदेशिक ऋण खोजी गरेर भए पनि यो सुरुङ मार्ग निर्माण गरिने उनको दाबी छ ।
कार्यक्रममा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले जुनसुकै समस्या सिर्जना भए पनि समाधान निकालेर सुरुङ बनाउनुपर्नेमा जोड दिए । यस्तै, पूर्वमन्त्री पार्वत गुरुङले दोलालघाट–चर्नावती सुरुङलाई त्रिदेशीय राजमार्ग बनाउनुपर्ने र बीपी राजमार्गको विकल्पका रूपमा अगाडि बढाउनुपर्ने बताए । ठूलो लगानीबाट निर्माण गरिएको बीपी राजमार्गमा देखिएको अस्तव्यस्ततालाई हेरेर पनि सुरुङमार्गलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । आयोजनाको अध्ययन र अन्य प्रक्रियामा सम्बन्धित जनप्रतिनिधिहरूलाई सहभागी गराउन उनले सरकारका एजेन्सीहरूलाई सुझाव दिए ।
यसैगरी, पूर्वसांसद जिपछिरिङ लामाले नेपालजस्तो पहाडी भूगोलमा सडकमार्गको दूरी छोट्याउन सुरुङ मार्ग आवश्यक रहेको बताए । ऋण र अनुदानबाटै भए पनि यस्ता आयोजना निर्माणमा सरकारले तीव्रता दिनुपर्ने उनको भनाइ थियो । राज्यले पैसा छैन भनेर कुनै पनि विकासको कामबाट पछि हट्न नमिल्ने उनले बताए । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति ताराबहादुर कोइरालाले दोलखाका लागि सुरुङ मार्ग आवश्यक रहेको र जसरी पनि बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहमहामन्त्री विजय खड्काले कुनै पनि आयोजना वा परियोजना सुरू गर्नुअघि त्यसको उपयोगिताबारे स्पष्ट हुनुपर्ने बताए । आयोजनाहरूले व्यापारमा योगदान र जनता लाभान्वितजस्ता कुरामा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र (चाकुपाट) का निर्देशक दीप बाराहीले नेपालमा सुरुङ मार्गको इतिहास, वर्तमान अवस्था र दोलालघाट–चर्नावती सुरुङको सम्भाव्यताबारे प्रस्तुतिकरण गरेका थिए ।