काठमाडौं । भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको ‘न्यानो नानी’ अभियान घोषणा गरेको छ । यस अभियानअन्तर्गत भिभो नेपालले हालै सार्वजनिक गरिएको भिभो भी ५० लाइट स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट ५० रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रद्वारा विकसित ‘न्यानो नानी’ परियोजनामा सहयोगस्वरूप प्रदान गर्नेछ । ‘न्यानो नानी’ एक स्थानीयरूपमा डिजाइन तथा निर्मित प्रविधि हो, यसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवनदायिनी ताप प्रदान गर्दछ ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यले नेपाली समुदायप्रति कम्पनीको समर्पण र दिगो नवप्रवर्तनलाई प्रतिविम्बित गर्ने बताए । त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भिभो नेपालको समर्थनले ‘न्यानो नानी’ परियोजनालाई अझ धेरै क्षेत्र र समुदायसम्म विस्तार गर्न मद्दत पुर्याउने बताए । ‘यो साझेदारीले नेपालभरिका थप परिवारहरूमा स्थानीयस्तरमा निर्मित जीवनरक्षक प्रविधि आवश्यक परिवारहरूमा पु¥याउने हाम्रो अभियानलाई अझ सशक्त बनाउँछ’, उनले भने । यस अभियानमार्फत कम्पनीले स्थानीय आविष्कारमा लगानी गर्दै देशभर नवजात शिशु स्याहारमा सुधार ल्याउने र सार्थक सामाजिक परिवर्तनका लागि बलियो कदम चालेको जनाइएको छ ।