वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुनसक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँदै एबीसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर शत्रुहरुबीच जारी लडाइँमा ‘हामी संलग्न हुन सक्छौँ’ भने । उनले संयुक्त राज्य अमेरिका अहिले सैन्य कारबाहीमा संलग्न नभएको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पुटिन द्वन्द्वमा सम्भावित मध्यस्थकर्ता हुनसक्नुहुन्छ र उहाँ तयार हुनुहुन्छ । उहाँले मलाई यसबारे फोन गर्नुभएको छ । यस विषयमा हामीले लामो छलफल गरेका छौँ ।’
इरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन भीषण हवाई आक्रमण भएको छ ।
आणविक मामिलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीच यसै साता हुने भनिएको छैटौँ चरणको वार्ता रद्द भएको जनाएको छ तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले छलफल जारी राखेको बताए ।
तेहरानलाई वार्ताको टेबलमा आउनका लागि समयसीमा तोकिएको छ कि छैन भनेर सोधिएको प्रश्नमा उहाँले एबीसीसँग भने, ‘अहँ, वार्ताको कुनै समयसीमा तोकिएको छैन ।’
‘उनीहरू छलफल गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। कुराकानी जारी छ’, स्कटले ट्रम्पलाई उद्धृत गर्दै भने । ट्रम्पले इजरायल र इरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताएका छन् । ट्रम्पले भने, ‘यसले वास्तवमा सम्झौतालाई छिटो अघि बढाउन बाध्य पार्न सक्छ ।’