काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा सोमबार बिहान उपचारका क्रममा निधन भएको छ । उनका भतिजा दुर्गाप्रसाद पौडेलले ९० वर्षको उमेरमा शास्त्रीको बिहान ५ बजे निधन भएको जानकारी दिए ।
अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शास्त्री २०४८ सालमै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए ।
उनकी तीन श्रीमतीमध्ये जेठी श्रीमती रमा पौडेलको ८६ वर्षको उमेरमा २० दिनअघि निधन भएको थियो । माहिली श्रीमती लता पौडेल देवघाटमा बस्दै आएकी छिन् भने कान्छी श्रीमती माया पौडेल उनकै साथमा थिइँन । शास्त्रीको निधनको खबर पाएपछि माहिली श्रीमती काठमाडौं आइसकेकी छिन् ।
शास्त्रीका तीन छोरी र दुई छोरा छन् । उनको दुबै छोरा विदेशमा रहेकाले उनीहरु मङ्गलबार नेपाल आएपछि मात्र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।