काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगामा रहेको पतञ्जली योग पीठको जग्गा सट्टापट्टा प्रकरणमा घोटाला गरेको भनी गत २२ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उक्त जग्गा घोटाला गर्ने कम्पनी पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका सञ्चालकविरुद्ध मुद्दा दायर नगरी हाकाहाकी उन्मुक्ति दिएको पाइएको छ ।
कम्पनी रजिस्टारको कार्यालयले श्री पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामको कम्पनी २०६४ साल असोज २० गते दर्ता गरेको देखिएको छ र उक्त कम्पनीको संस्थापक सञ्चालकहरूमा पाँच जनाको नाम रहेको छ । उक्त कम्पनीको संरक्षक सञ्चालकमा समाजसेवी योग गुरु स्वामी श्री रामदेव छन् । उनको भारतीय पासपोर्ट श १३३९०५० रहेको उक्त अभिलेखमा उल्लेख छ । उनको ठेगाना पताञ्जली योग पीठ बहादरावाद, हरिद्वार भारत उल्लेख गरिएको छ । उक्त कम्पनीको अध्यक्ष समाजसेवी श्री आचार्य बालकृष्ण छन् । उनको ठेगाना स्वामी शंकरदेव, पतञ्जली योग पीठ बहादरावाद, हरिद्वार भारत उल्लेख गरिएको छ । उनी नेपाली भए पनि भारतीय पासपोर्ट लिएका छन् । उनको भारतीय पासपोर्ट नम्बर श् ११७९०१ रहेको छ । उक्त कम्पनीका अर्का सञ्चालक श्री महन्त राजेन्द्र दास छन् । महन्त गोपाल दास पतञ्जली अखडा, उदासीन कनखल हरिद्वार भारत उनको ठेगाना रहेको छ । उनको भारतीय पासपोर्ट ब्३०७६१०७ रहेको छ ।
अर्का सञ्चालक समाजसेवी श्री राजेन्द्र सिंह रहेका छन् । उनको ठेगाना वेद भवन वार्ड नं १३, थानेसर जिल्ला कुरुक्षेत्र हरियाणा भारत रहेको छ । उनको प्यान नम्बर ब्क्ष्त्त एक् ९०२९प रहेको छ । अर्का सञ्चालक नेपाली नागरिकताधारी शालीग्राम सिंह छन् । काजि कामनपा ७ सिफल, काठमाडौं ठेगाना रहेका सिंह पेशाले इन्जिनियर हुन र उनको नागरिकता नम्बर ५५६९।२।६७ काठमाडौं रहेको छ । सिंहविरुद्धचाहिँ अख्तियारले मुद्दा दायर गरेको छ । तर उनीबाहेक अरू महत्वपूर्ण चारजना सञ्चालकविरुद्धचाहिँ अख्तियारले मुद्दा नै नचलाई हाकाहाकी उन्मुक्ति दिएको छ ।
पतञ्जली योग पीठ आयुर्वेद कम्पनीका लागि भनेर सरकारसँग हदबन्दीभन्दा बढी जग्गा लिएर त्यसलगत्तै जग्गा धमाधम प्लटिङ गरेर बिक्री गर्न थालेपछि अख्तियारले त्यसमाथि छानबिन सुरु गरेको थियो र पतञ्जलीलाई उक्त जग्गा दिने तत्कालीन प्रधानमन्त्री माधव नेपालले एमाले फुटाएर नेकपा समाजवादी बनाएपछि प्रधानमन्त्री केपी ओलीको बक्रदृष्टिमा परेकाले अख्तियारले सत्ताको दाउपेचबीच पूर्वप्रम नेपाललगायत ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उक्त मुद्दा दायर भएपछि विशेष अदालतभित्रै हलचल पैदा भएको छ र भारतीय हित रक्षाका लागि सिंगो राजनीतिक जीवन समर्पण गरेका पूर्वप्रधानमन्त्री नेपाललाई चोख्याउन हरप्रयास हुने अपेक्षा गरिएको बेला अख्तियारले उक्त जग्गा घोटाला गर्ने पतञ्जली योग पीठ तथा आयुर्वेदिक कम्पनीका भारतीय सञ्चालकहरूलाई मात्र भ्रष्टाचारको मुद्दा दायर गर्नुले उक्त मुद्दा पछाडिको कुटिलता सहजै अनुमान गर्न सकिन्छ ।
आफ्ना जतिलाई जोगाएर हालिएको हदबन्दीभन्दा बढीको जग्गा र उद्देश्यविपरीत प्लटिङ गरेर बिक्री गर्न अनुमति दिइएको उक्त जग्गा घोटालामा कम्पनीका सञ्चालकहरूसँगै कम्पनी रजिस्टारको कार्यालयका अधिकारीहरूलाई पनि सजिलै उन्मुक्ति दिइएको छ ।