काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले रुपैयाँ १० दरको साविककै आकार तथा रङ्गमा संकेत नं.द/३२ ३०००००१ देखि प/९४ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट सोमबारदेखि प्रचलनमा ल्याएको हो । यो संकेत नम्बरको नोट २०८२ साल असार २ गते सोमबारदेखि चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको विशेषता छ ।
यसैगरी नोटको पछाडिपट्टिको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा कृष्णसारको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज टेन’ लेखिएको र तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी.’ लेखिएको विशेषता भएको नोट चलनतल्तीमा आएकोे हो ।